arrow

नेकपा एसले सहमति तोडेपछि बागमतीमा समस्या, सुदूरपश्चिम पाउनु पर्ने दाबी, माओवादी चिँढियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
deuba-prachanda-nepal-1353.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा गर्दा अर्को प्रदेश आफ्नो भागमा हुनुपर्ने शर्त अघि सारेको छ । प्रदेश १ र बागमती प्रदेशको सरकार सञ्चालन गरिरहेको एस पार्टीले अर्को प्रदेश आफ्नो भागमा नपर्दासम्म बागमती प्रदेश सरकार नछाड्ने नीति लिएको छ ।  

बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट भइरहेको हस्ताक्षरको बारेमा गठबन्धनको शीर्ष नेतृत्वले नै टुंग्याउनुपर्ने औपचारिक निष्कर्ष निकाले पनि भित्री रुपमा भने सुदुरपश्चिम वा कर्णाली प्रदेशको सरकार आफ्नो हुनुपर्ने शर्त अघि सारेको हो । 

कर्णालीमा अहिले कांग्रेस र सुदुरपश्चिममा माओवादीले नेतृत्व गरेको प्रदेश सरकार रहेको छ । हाल माओवादी, एस र कांग्रेसले दुई दुई वटा प्रदेश सरकार चलाइरहेका छन् । मधेस प्रदेशमा भने जसपाको सरकार रहेको छ । बागमती प्रदेश सरकार छाड्दा एस पार्टीलाई अन्याय हुने निष्कर्ष निकाल्दै अर्को प्रदेशका लागि बार्गेनिङ गरिरहेको हो । 

शनिबार प्रदेशसभा संसदीय दलको बैठकमा भएका छलफलबारे जानकारी दिँदै उपनेता कृष्ण खनालले केन्द्रीय गठबन्धनले जे गर्छ प्रदेशमा त्यही लागू हुने बताए । उनले तल हस्ताक्षर गर्ने वा हल्ला गर्ने कुराको कुनै तुक नहुने दाबी गर्दै माथिबाट निर्णय आउनु पर्ने, माथिबाट निर्णय आउँदा बाग्मतीको साटो अर्को प्रदेश पाउने संभावना रहेको बताए ।

‘तलको हल्लाले केही तुक राख्दैन । तलका कुराको अर्थ छैन । सबै प्रदेशका सरकार केन्द्रीय गठबन्धनबाटै बनेको हुनाले जे गर्छ केन्द्रबाटै गर्छ । अहिले हस्ताक्षर गरेका आधारमा मुख्यमन्त्रीले राजीनामा दिने प्रश्न उठ्दैन । केन्द्रबाट जे निर्णय आउँछ त्यही अनुसार हुन्छ’, खनालले भने । 

खनालले अहिले बागमतीमा नेकपा एसले छाड्दा अर्को कुन प्रदेशको मुख्यमन्त्री पाउने भन्ने प्रश्न पनि रहेकाले यस बारेमा कुनै छलफल बैठकमा नभएको बताए । 

खासगरी सुदूरपश्चिम प्रदेशमा र बागमती प्रदेशमा सरकार परिवर्तन गर्ने खेल शुरु भएको छ । नेकपा एसले बागमतीको साटो सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दाबी गरेपछि सुदूरपश्चिममा पनि सरकार परिवर्तनको खेल शुरु भएको हो । 

बागमती प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री फेर्न दबाब दिएपछि एस पार्टीले पनि सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन गर्न दबाब दिएको हो । गठबन्धन दलका तर्फबाट माधवकुमार नेपालले शुक्रबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेर बागमती प्रदेशको सरकार छाड्न तयार रहेको तर सुदूरपश्चिम प्रदेशमा नेकपा एसको नेतृत्वमा सरकार बनाउनु पर्ने शर्त राखेका हुन् । 

६ महिनापछि सरकारको नेतृत्व परिवर्तन हुने पूर्वसहमतिअनुसार कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई दबाब दिएका थिए । पाण्डे पाँच दलीय गठबन्धनको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए । 

घटक दलले दबाब दिन थालेपछि एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठक शनिबार बसेको थियो ।  सो बैठकले उपयुक्त विकल्प भए बागमती प्रदेश छाड्न सकिने धारणा राखेको थियो । 

पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको  उपस्थितिमा शनिबार काठमाडौंमा संसदीय दलको बैठक बसेको थियो । माधव नेपालले गठबन्धन दलहरुसँग सुदूरपश्चिमको मूख्यमन्त्री माग गरेको स्रोतको दाबी छ । ‘सुदूरपश्चिममा कुरा मिलेमा बागमती प्रदेशको मूख्यमन्त्री छाड्न सकिन्छ’, माधव नेपालको भनाइ उद्यृत गर्दै स्रोतले भन्यो । 

बाग्मतीको मूख्यमन्त्री छाड्ने विषयमा पाण्डेले शनिबार र शुक्रबार पार्टी नेतृत्वसँग छलफल गरेका थिए । विगतमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको भन्दै उनले सत्ता हस्तान्तरणका लागि आफू तयार रहेको नेतृत्व तहलाई बताएका थिए । 

पाँच दलीय गठबन्धनका तर्फबाट गत वर्ष कात्तिक ११ गते पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुँदा ६ महिना पदमा बस्ने सहमति भएको कांग्रेस र माओवादीको भनाइ छ । सहमति कार्यान्वयनका लागि भन्दै दुवै दलले प्रदेश सांसदहरूको हस्ताक्षर संकलनसमेत शुरू गरेका छन् । 

नेपाली कांग्रेसका प्रदेश प्रमख सचेतक छिरिङ दोर्जे लामाले सरकार बनाउँदै गर्दा ६–६ महिना नेतृत्व गर्ने सहमति भएको बताए । ‘सरकार बनाउँदै ६–६ महिनाको सहमति भएको थियो । सहमति पत्र पनि बाहिर आइसकेको छ । ६ महिना कटिसकेको छ, बजेटका लागि हामी रोकेका थियौं,’ लामाले भने, ‘सहमतिमै सरकारको नेतृत्व छाड्ने कुरा हो । प्रक्रियामा जाँदा प्रदेससभा सदस्यहरूको हस्ताक्षर चाहिन्छ नै त्यसैले संकलन गरिरहेको हो ।’ 

पूर्वसहमति अनुसार मुख्यमन्त्री पाण्डेले आफैं सत्ता हस्तान्तरण गर्ने कांग्रेस माओवादीको विश्वास छ । ६ महिना एकीकृत समाजवादी र बाँकी अवधि कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको हो । कांग्रेसका तर्फबाट इन्द्र बानियाँ मूख्यमन्त्री बन्ने छन् । 

तर एस पार्टीले अर्को प्रदेश पाउनुपर्ने शर्त राखेपछि बागमतीमा सत्ता हस्तान्तरण प्रकृया लम्बिने देखिएको छ । उता सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एस पार्टीका दीर्घ सोडारीले दाबी गरिरहेका छन् । सुदूरपश्चिममा एस पार्टी निकै बलियो मानिन्छ । तर माओवादीको नेतृत्व भएका कारण त्यहाँ सहमति कायम हुने संभावना निकै कम रहेको छ ।

 ‘माधव नेपालले साह्रै जोड गर्नु भएको छ तर संभावना निकै कम छ’, एक नेताले भने,  ‘माओवादीले एस पार्टीलाई सरकार छाड्न चाहँदैन, त्यसकारण पनि सुदूरपश्चिमको सरकार परिवर्तन हुन संभव देखिएन ।’ 

बागमती प्रदेशबाट मात्रै सरकार छाड्नु परेमा माधव नेपालले वर्तमान सत्ता गठबन्धनबाट चिढिने संभावना बढेको छ । बागमतीमा एस पार्टीलाई एमालेले समर्थन गर्ने संभावना पनि रहेका कारण तत्काललाई एस पार्टीले सरकार छाड्ने संभावना टाढा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ