arrow

माओवादी केन्द्रभित्र महासचिवको रस्साकस्सी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
maobadi-kendra-kendriya-samiti-baithak-2079-03-19 (2).jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रभित्र महासचिव को हुन् भन्ने रस्साकस्सी चलिरहेका बेला केन्द्रीय समिति बैठक आइतबारदेखि शुरु भएको छ । महासचिव र पदाधिकारी चयनकै विषयलाई लिएर महाधिवेशन सम्पन्न भएपछि पटक–पटक केन्द्रीय समितिको बैठक सर्दै आएकोमा आइतबारदेखि बैठक शुरु भएको हो । 

गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेपछि हालसम्म अध्यक्ष बाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन् । आइतबारबाट शुरु भएको बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटव्यूरो र स्थायी समितिको चयन र कार्यविभाजन रहेका छन् । गत महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको थियो । 

त्यस्तै केन्द्रीय सदस्यको संख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ । साथै थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ । मनोनित र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै रहेका बेला बैठक शुरु भएको एक केन्द्रीय सदस्यले बताए । 

उनका अनुसार निर्वाचनको समीक्षा र आगामी संघीय संसदको निर्वाचनको बारेमा पनि छलफल हुने बताइएको छ । ‘आजको बैठकमा धेरै कार्यसूची देखिएका छन् कुन कुन विषयले पूर्णता पाउँछन् त्यो भने बैठकपछि मात्रै भन्न सकिन्छ’, केन्द्रीय सदस्य शिबबहादुर बस्नेतले भने । 

अहिले माओवादीभित्र महासचिव पदकै विषयमा बढी लफडा रहेको छ । महासचिव वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर) मुख्य प्रतिस्पर्धामा छन् । पुन प्रचण्डका मूख्य राजनीतिक सहयोगी हुन् । 

शर्माले अर्थमन्त्रालय सम्हालिरहेका छन् । सबैभन्दा विवादित अर्थमन्त्री भएका कारण उनलाई फिर्ता बोलाउने विषयमा पुनको समूह लागिरहेको छ । उनले पार्टीमा पदाधिकारी ताकेपछि माओवादीभित्र एउटा ठूलै पंक्ति शर्माको विपक्षमा रहेको छ । 

खासगरी शर्माले अर्थ मन्त्रालयमा बसेर गरेका कामलाई पार्टीका कार्यकर्ताहरुले राम्रो मानेका छैनन् । साथै शर्माले महासचिव पद पनि चलाउन नसक्ने अधिकांश केन्द्रीय सदस्यहरुको भनाइ रहेको छ । ‘उहाँ स्टण्डबाज हो नेता होइन’, एक केन्द्रीय सदस्यले भने । 

ती केन्द्रीय सदस्यका अनुसार माओवादीमा अध्यक्षपछिको शक्तिशाली पद महासचिव हो । महासचिवमा ६ जनाले दाबी गरिरहेका छन् । कृष्णबहादुर महरा, वर्षमान पुन ‘अनन्त’, पम्फा भुषाल, जनार्दन शर्मा ‘प्रभाकर’, गिरिराजमणि पोखरेल र देवेन्द्र पौडेल महासचिवका दावेदार हुन् ।  

तर प्रचण्डले वर्षमान, जनार्दन र पम्फामध्ये एकलाई महासचिवको जिम्मेवारी बताइए पनि भुषाल भने त्यो रेसमा छैनन् । पूर्वसभामुखसमेत रहिसकेका कृष्णबहादुर महारले आफूलाई महासचिव बनाउनुपर्ने कडा सर्त राखेका छन् । 

उनले पहिलो नम्बरमा महासचिव र त्यो नभए वरिष्ठ उपाध्यक्ष आफूले पाउनु पर्ने माग प्रचण्डसँग राखेको स्रोतको दाबी छ । नारायणकाजी श्रेष्ठले पनि आफू वरिष्ठ उपाध्यक्ष हुनुपर्ने कडा शर्त राखेका छन् । 

महरासहित पुन,  मातृकाप्रसाद यादव, गिरिराजमणि पोखरेल, देव गुरूङ, हरिबोल गजुरेल लगायतले उपाध्यक्षमा दाबी प्रस्तुत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ