arrow

आँधीखोलामा झोलुङ्गे पुल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
jholunge-pool-baglulg-recor.jpg

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका ७ र ८ जोड्न आँधीखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । हेर्दा वारिपारि जस्तोदेखिए पनि आँधीखोलाले बनाएको गल्छी पार गरेर वा अन्यत्रैबाट घुमेर आउँदा घण्टौँ समय खर्चनुपर्ने अवस्था अन्त्य गर्नका लागि गल्याङको पेलाकोट र वडा नं ८ को चिउरीलाई जोड्न पुल निर्माण गरिएको हो ।

नुवाकोटको एसए शैलेन्द्र जेभीले २०७७ असारमा निर्माण सुरु गरेको उक्त पुल २०७८ वैशाखमा सक्नुपर्ने भए पनि कोरोनाका कारण समयावधि थप गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए । उक्त पुल २०७९ साउन २० सम्ममा सक्नेगरी समयावधि थप गरिएकामा निर्धारित समयअगावै सम्पन्न भएको हो । 

तीनसय अठसठ्ठी मिटर लामो पुल निर्माणका लागि रु एक करोड ८३ लाखमा ठेक्का सम्झौता भएको थियोे । पुल निर्माणसँगै विशेषगरी गल्याङ र पेलाकोटका नागरिकलाई छिटो आवतजावत गर्न सहजा हुनाका साथै सिद्धार्थ राजमार्गसित पनि जोडिएको छ ।

पुलको अभावमा एक घण्टाभन्दा बढी समय लगाएर सिद्धार्थ राजमार्गमा आउनुपर्ने बाध्यता छोट्याउनका लागि पुल निर्माण गरिएको गण्डकी प्रदेशका सांसद भागवतप्रकाश मल्लले बताए । आव २०७६/७७ मा बजेट विनियोजनपश्चात् डिपिआर भई बोलपत्र आह्वान गरेर  निर्माण थालिएको उनले जानकारी दिए ।

“पुल निर्माणसँगै घण्टौँ समय लगाएर आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य भएको छ”, सांसद मल्लले भने, “स्थानीयवासीलाई आवतजावतमा सहजता हुनाका साथै पुल लामो र अग्लोसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न  मद्दत पुग्नेछ ।”

पुल निर्माणसँगै अहिले सामाजिक सञ्जालमा तस्वीर राख्ने, टिकटक बनाउनेहरु बढ्दै गएका छन् । यातायातको असुविधा तथा प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको पेलाकोटमा रहेको केदारनाथ मन्दिरमा दर्शनार्थीलाई पुग्न सहज हुने भएको छ । 

पुल निर्माणसँगै स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउनका लागि टेवा पुग्नाकासाथै धार्मिक पर्यटन र साहसिक पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार थप गर्दै लैजानु आवश्यक रहेको स्थानीयवासीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ