arrow

सीपमूलक तालिमप्रति युवा आकर्षित

logo
रासस
प्रकाशित २०७९ असार २१ मंगलबार
talim2.jpg

बागलुङ । रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जाने युवाहरूले पछिल्लो समय सीपमूलक तालिम लिन थालेका छन् । सीप सिकेर विदेश जाँदा सिकेकै काम पाइने, पारिश्रमिक राम्रो पाइने र काम नपाउने जोखिम कम हुने भएकाले युवाहरु सीपमूलक तालिममा सहभागी हुन थालेका हुन् ।

स्विट्जरल्यान्ड र नेपाल सरकारको साझेदारीमा बागलुङमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले राहदानी बनाउने बेला नै युवाहरूलाई सीपमूलक तालिमका लागि प्रेरित गर्ने गरेको छ । परियोजना शुरु भएपछि चालु आर्थिक वर्षमा खाडी मुलुक, मलेसिया लगायतका देशहरूमा जाने १३१ जनाले सीपमूलक तालिम लिएका छन् । 

“यो सकारात्मक तथ्याङ्क हो, युवाहरूलाई सीप सिकेर विदेश जाँदा धेरै कुरामा सहज हुन्छ,” वैदेशिक रोजगार बोर्ड सामी परियोजनाका कार्यक्रम अधिकृत शिव रेग्मीले भने, “शुरुआतमा भन्दा यो वर्ष सीप सिक्न चाहने युवाको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ ।” 

कार्यक्रमले मेसन, कार्पेन्टर, हाउस किपिङ, कुक, तथा अन्य सीपमूलक तालिमहरू निःशुल्क उपलब्ध गराउने गरेको छ । “सीप सिकेपछि मजदुर दक्ष हुन्छ, सोही अनुसारको पारिश्रमिक पाउँछ, अदक्षले १० वर्षमा कमाउने पैसा दक्ष कामदारले पाँच वर्षमा कमाउन सक्छ,” उनले भने, “अझै पछि एजेन्टहरूको दबाबमा सीप नसिकी बिदेसिने धेरै छन्, यो गलत हो ।” 

सामी परियोजना बागलुङका संयोजक मीनप्रसाद पौडेलका अनुसार परियोजनाले स्थापना गरेको आप्रवासी स्रोत केन्द्रबाट व्यक्तिगत परामर्श चार हजार ५६५ जनाले लिएका छन् । जसमा महिलाको सङ्ख्या एक हजार ७२६ छ । परियोजनाले समुदायमा आधारित कार्यक्रम चलाउँछ । आप्रवासी स्रोत केन्द्रमा दर्ता तथा समाधान भएका घटनाहरूको सङ्ख्या ९१ रहेका छन् । विदेश जान गरेको लगानी ठगिएका, विदेशमा ठगिएका, अप्ठ्यारोमा परेका, तलब भत्ता नपाएका लगायतका गुनासा तथा समस्या केन्द्रमा आउने गरेका छन् । 

वैदेशिक रोजगारीमा भएका घटनामा भएको क्षतिमा राहतस्वरुप केन्द्रले तीन करोड नौ लाख ४५ हजार ६८ आर्थिक सहायता दिलाउन सहजीकरण गरेको जनाइएको छ । चालु आवमा वैदेशिक रोजगारीका क्रममा समस्या (ठगी, जालसाजी तथा पासपोर्ट होल्ड)मा परेका कामदार तथा उनीहरूका परिवारलाई कानुनी सहायताका लागि प्राप्त ४८ उजुरी, गुनासा वा समस्याहरूमध्ये पाँचका उजुरी पूर्ण रूपमा समाधान भएको पौडेलले बताए । ती घटनाका पीडितहरूले १० लाख  क्षतिपूर्ति पाएका छन् ।

परियोजनाले चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १६ जनाको शव नेपाल ल्याउन सहजीकरण गरेको जनाएको छ । विदेशमा मृत्यु भएकामध्ये अधिकांशको हृदयाघातका कारण मृत्यु हुने गरेको तथ्याङ्क आप्रवासी स्रोत केन्द्रसँग छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ