arrow

पदाधिकारी छान्न प्रचण्डलाई महाभारत, वरिष्ठ उपाध्यक्ष र महासचिवमा आकांक्षी बढी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
maobadi-kendra-kendriya-samiti-baithak-2079-03-19 (2).jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पदाधिकारी टुंगो लगाउन चर्को दबाब परेको छ । पुस यता पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोसमेत टुंगो नलगाएका कारण केन्द्रीय सदस्यहरुले प्रचण्डलाई चर्को दबाब दिएका थिए । 

सो दबाबपछि माओवादीले मंगलबार केन्द्रीय कमिटीको बैठक स्थगित गरेर कार्यालय सचिवालयको बैठक बसेको थियो । सो बैठकले अध्यक्ष प्रचण्डलाई पदाधिकारी टुंगो लगाउने जिम्मा दिएको छ ।

 ‘संभवत बुधबार बस्ने पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोमा बस्ने सबै नेताहरुको नाम प्रस्ताव गर्नेछन्’, माओवादीका एक स्थायी समित सदस्यले भने । 

पदाधिकारीमा माओवादीभित्र ठूलै रस्साकस्सी चलेको छ । वरिष्ठ उपाध्यक्ष र महासचिवसहितका पदाधिकारी चयन प्रक्रिया अघि बढेसँगै  नेताहरुबीच रस्साकस्सी चलेको हो । 

वरिष्ठ उपाध्यक्ष पदमा नारायणकाजी श्रेष्ठ, मात्रिका यादव र कृष्णबहादुर महराले दाबी गरेका छन् । यसअघि नारायणकाजीले आफ्नो स्वभाविक दाबी वरिष्ठ उपाध्यक्षमा रहेको बताउँदै आएका थिए । 

तर मंगलबार बिहान अध्यक्ष प्रचण्डनिवास खुमलटारमा बसेको कार्यालयको विस्तारित बैठकमा यादव र महराले पनि वरिष्ठ उपाध्यक्षमा दाबी गरेका थिए । माओवादीभित्र पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो टुंगो लगाउने गरी गृहकार्य भइरहेको बेला उनीहरुले आफ्नो दाबी प्रस्तुत गरेका हुन् । 

आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा पदाधिकारी टुंगो लगाउन दबाब बढेपछि पदाधिकारी चयनको गृहकार्य शुरु गरिएको हो । यसका लागि आइतबारदेखि जारी केन्द्रीय कमिटी बैठक नै मंगलबारलाई रोकेर बुधबार बस्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ । 

कार्यालयको विस्तारित बैठकबाट आएका सुझावलाई आधार मानेर पदाधिकारी चयन गर्ने भनिए पनि त्यसको जिम्मेवारी प्रचण्डले पाएका छन् । ‘कार्यालयको विस्तारित बैठक मंगलबार बिहान बसेको थियो । त्यसबाट पदाधिकारी चयन गर्ने जिम्मा अध्यक्षलाई दिएका छौं’, महासचिवको दाबी गरिरहेका नेता वर्षमान पुनले भने । पार्टी पदाधिकारी बनाउने भएपछि महासचिवसहित अन्य पदमा पनि जटिलता थपिएको छ ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई प्रस्ताव गर्ने तयारी गरिएको थियो । सोही पदमा कृष्णबहादुर महरा र मातृका यादवले इच्छा देखाएपछि थप समस्या पैदा भएको छ । 

चुनाव गरे पनि आफू वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्न तयार रहेको यादवले बैठकमै राखेका थिए । यस्तै महराले आफू महासचिव नहुने हो भने वरिष्ठ उपाध्यक्ष हुनुपर्ने बताएका छन् । प्रचण्डले महरालाई उपाध्यक्ष बनाउने र पुनलाई महासचिव बनाउने तयारी गरेको स्रोतको दाबी छ । 

यस्तै महासचिवमा पुनका अतिरिक्त हालका अर्थमन्त्री जनार्दन शर्मा प्रमुख दावेदार छन् । पम्फा भुसाल, देव गुरुङ र शक्ति बस्नेतसमेत महासचिवका आकांक्षी छन् । 

यसैगरी कोषाध्यक्ष र उपमहासचिवमा को–को बस्ने भन्नेमा पनि अन्योल छ । केन्द्रीय समितिबाट सर्वसम्मत रुपमा पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो टुंगो लागेमा केन्द्रीय सदस्यको जवाफ दिएर प्रचण्डले बुधबार बैठक समापन गर्ने तयारी गरेको भएपनि पदाधिकारी चयनमा मंगलबार रातिसम्म प्रचण्डको सचिवालयले नेताहरुलाई बोलाएर छलफल गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ