arrow

प्रधानमन्त्री देउवा संवैधानिक परिषद् विधेयकले अप्ठेरोमा, कांग्रेस महामन्त्रीद्धयको विरोध, जवाफ दिन माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
Gagan-bishwoprakash.jpg

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकको विपक्षमा उभिएका छन् । 

गत बुधबार प्रधानमन्त्री देउवाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेस गरेका थिए । उक्त विधेयकको चौतर्फी आलोचना भइरहँदा कांग्रेसकै महामन्त्रीद्वय थापा र शर्मा विपक्षमा उभिएका हुन् ।

तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेशसँग मिल्दोजुल्दो उक्त विधेयकको विपक्षमा उनीहरु उभिएका हुन् । तत्कालीन ओली सरकारले अध्यादेश ल्याउँदा कांग्रेसले विरोध जनाएको थियो । तर अहिले सोही प्रकृतिको विधेयक सरकारले ल्याएपछि यसको विरोधमा थापा र शर्मा उभिएका हुन् । 

ललितपुरमा सोमबार आयोजित कार्यक्रममा गगन थापाले सो विधेयक मंगलबारभित्र फिर्ता हुने बताए । आइतबार कांग्रेस पदाधिकारीले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उक्त विधेयक फिर्ता लिन आग्रह गरेको महामन्त्री थापाले जानकारी दिए । उनका अनुसार मंगलबारसम्ममा सो विधेयक फिर्ता हुनेछ । 

‘पूर्ववर्ती सरकारले यस्तै विधेयक ल्याउँदै गर्दा कांग्रेसले गलत भन्यो । संविधानविपरीत भएकाले मान्दैनौं भनेर कांग्रेसले भन्यो ।  सभापति त्यो बैठकमा भाग लिन नै जानुभएन । हिजो गलत भनेको कुरालाई आज हामीले सही भन्न पाउँछौं ? पाउँदैनौं । हिजो गलत थियो भने आज पनि गलत छ । हामीलाई गल्ती गर्ने छुट छैन भनेर आइतबार पदाधिकारीहरूले देउवासँग भनिसकेका छौँ । आज–भोलिमा त्यो विधेयक फिर्ता हुन्छ,’ गगन थापाले कार्यक्रममा भने ।

यस्तै अर्का महामन्त्री शर्माले ओली सरकारले ल्याएको अध्यादेशसँँग मिल्दोजुल्दो प्रावधानसहित विधेयक ल्याउन सरकारलाई कसले सल्लाह दियो भनेर प्रश्न गर्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।  

उक्त विधेयक अविलम्ब फिर्ता हुनुपर्ने बताउँदै सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, ‘‘संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद् छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ