arrow

कृषकको खेतबारीमा मेयर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
Dhanraj Aharya.jpg

पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्य कृषकको बारी र पाखोमै पुगेर उनीहरुका समस्या र सम्भावनाको बारेमा जानकारी लिएका छन् । मंगलबार विहान महानगरको वडा नम्बर २१ का किसानको पाखोबारीमै पुगेर उनले कृषकका समस्याको बारेमा जानकारी लिएका हुन् । निर्वाचनको बेलासमेत घरदैलोमा नटेकेका मेयर आचार्यलाई आफ्नो बगैचा र आँगनमा भेट्दा पोखरा २१ का सुन्तला कृषक खुशी देखिन्थे । 

आठ रोपनी भन्दा बढी जमिनमा सुन्तला खेती गरेका कृषक रुद्धलाल सुवेदीले आफ्नो बँगैचामा विना असिना सुन्तला झरेको भन्दै मेयर आचार्य घरमै पुगेको बेला चिन्ता प्रकट गरे । ‘यसपाली असिना पनि झरेको छैन । तर किन हो मेयरसाप ! सुन्तला अत्यधिक झरेको छ । आज तपाईलाई घरमै भेट्न पाइयो यसको सामाधान खोजिदिनुपर्ने भयो’, उनले भने ।

मेयर आचार्यले आफूसंगै पुगेका महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियालाई कारण समाधान के हुन सक्छ बताउन भनेसंगै कडरियाले तीन वटा अवस्थामा सुन्तला झर्नसक्ने जानकारी दिए । 

उनका अनुसार सुरुमा सुन्तला फल्ने बित्तिकै बढ्न प्रतिस्पर्धा गर्ने हुँदा झर्छ । दोस्रो कारण सुख्खाका कारण पनि सुन्तला झर्छ । जेठ महिनामा अधिक वर्षाका कारण पनि सुन्तला झर्छ तर, जेठमा अधिक वर्षाले सुन्तला झर्नु सामान्य रहेको र यसबाट डराउन नपर्ने उनले बताए । साउन लागेपछि पतेरोका कारण सुन्तला झर्यो भने त्यो चिन्ताको विषय हुने उनले सुनाए ।

सुन्तला बँगैचा घुम्ने क्रममा स्थानीय कृषकले सुन्तलाको फेद कुहिने, बोट मर्ने र सुन्तला झर्ने लगाएतका समस्या राखेका थिए । त्यहाँका किसानले पानीको व्यवस्थापन हुन सके सुन्तला र अन्य फलफूल र तरकारीको उत्पादन समेत बढ्ने र विस्तार हुने जानकारी गराएका थिए ।

उक्त अवसरमा कृषि महाशाखा प्रमुख कडरियाले समस्या समाधानका उपाए बताएका थिए । उनले मल्चिङ र यसको फाइदा लगायतका विषयमा कृषक र मेयर आर्चायका साथै महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याललाई जानकारी दिएका थिए । महानगरबाट प्रदान गरिएको अनुदान र त्यसको उपयोगका विषयमा समेत उनले जानकारी दिए । 

मेयर आचार्य पोखरा-२१ मा ६० वर्षीय कृषक ज्ञानबहादुर कार्कीले गरेको खर्बुजा खेतीको पनि अबलोकन गरे । कृषक कार्कीले खर्बुजा खेतीमा व्यापक सम्भवाना रहेको तर पानीको स्रोत व्यवस्थापनमा समस्या रहेको जानकारी गराए । १४ वर्ष स्पेन बसेर चार वर्ष अगाडि नेपाल फर्केका कार्कीले अहिलेको सिजनमा तीन रोपनी क्षेत्रफलमा खर्बुजा लगाएकामा पाँच हजार किलो बेचे बेचेका छन् ।

अहिले बारीबाट नै ७० रुपैयाँ प्रतिकेजीमा बजारबाट व्यापारी पुगेर ल्याउने गरेको उनले जानकारी दिए । मेयर आचार्य पोखरा २१ मा बिहान कृषक सम्मान र अनुदान वितरण गर्ने कार्यक्रमका लागि पुगेका थिए । विहान झण्डै ९ बजे सुरु हुने कार्यक्रमका क्रममा उनी त्यसको दुई घण्टा अगाडि नै किसानका पाखोबारीमा बिना जानकारी किसानको पाखो बारीमा पुगेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ