arrow

भारतीय राजदूत एफएनसीसीआईको सचिवालयमा, गहुँ र चिनीको निर्यात  प्रतिवन्ध नेपालका लागि नभएको स्पष्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
fncci-indian-ambassador-navin.jpg

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले गहुँ, चिनीलगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने स्पष्ट पारेका छन् । 
 
श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईद्वारा उनको सम्मानमा महासंघ सचिवालयमा आयोजना गरिएको औपचारिक भेटवार्तामा सोबारे जानकारी दिएका हुन् । 

राजदूत श्रीवास्तवलाई एफएनसीसीआई अध्यक्ष शेखर गोल्छाले स्वागत गरेका थिए । स्वागत मन्तव्यका क्रममा अध्यक्ष गोल्छाले भारत सरकारका तर्फबाट केही अत्यावश्यक वस्तुुहरूको निर्यातमा प्रतिवन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताएका थिए । 
 
‘भारत सरकार, भारतसंगै नेपालको पनि आर्थिक विकास हुनुुपर्छ भन्ने पक्षमा छ । तपाईहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ’, राजदूत श्रीवास्तवले भने, ‘हामी दुवैै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहान्छौं ।’ 

महासंघका अध्यक्ष गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्यावहरूको विस्तार, गैर भन्सार अवरोधहरूका विषयलाई बैठकमा मुख्य रूपमा उठाए । 

उनले नेपालको भारतसँगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटालाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको पनि बताए । 

लामो समयदेखि मीरगंज पुल बन्न नसकेकोतर्पm ध्यानाकर्षण गराउदै अध्यक्ष गोल्छाले निर्माणका लागि आग्रह गरे । 
  
त्यसका लागि नेपालमा भारतीय संयुक्त लगानी विस्तार, मुख्य नाकासम्म रेलमार्गको विस्तार, प्रयोगशालाको अभावमा कृषिजन्य उत्पादनहरूको निर्यातमा हुने गरेको ढिलाईलाई भारत सरकारले सम्बोधन गर्नुपर्ने उनले बताएका थिए । 

गैर भन्सार अवरोधका कारण मुख्यतयाः कृषिजन्य उत्पादन र जडिबुटी निर्यातमा समस्या देखिएको छ । यसैगरी तेस्रो मुलुकसँगको व्यापारका लागि थप दुई बन्दरगाहको प्रयोग गर्ने सुविधाका लागि पनि उनले आग्रह गरेका थिए । 

सो क्रममा राजदूत श्रीवास्तवले सडक, रेल, हवाइ र डिजिटल कनेक्टिभिटीमा देखापरेका समस्याहरूको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजबुद बनाउन भारत सरकार तयार रहेको बताए । उनले ल्याब टेष्टका सम्बन्धमा भारत सरकारले रक्सौलमा अन्तर्राष्ट्रियस्तरको ल्याब स्थापना भएको, काठमाडौंमा रहेको ल्याबलाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरी काम भैरहेको बताए । अर्को ल्याब उपयुक्त स्थानमा बनाउन आफूले नेपालका वाणिज्य मन्त्री समक्ष अनुुरोध गरेको पनि उनले बताए । यसमा महासंघका तर्फबाट पनि नेपाल सरकारमा प्रयास हुन सुुझाव दिए । 

गैर भंसार अवरोधका सम्बन्धमा महासंघले राखेका गुुनासाहरूतर्फ आफ्नो ध्यानाकर्षण भएको र त्यस प्रकारको अवरोध भएको आफूलाई थाहा नभएकाले त्यस्ता समस्या छन् भने आफूले समाधान गर्ने प्रतिवद्धता राजदूत श्रीवास्तवले जनाए । 

अध्यक्ष गोल्छाले महासंघले नेपाल सरकार, भारत सरकार, लगानी बोर्ड नेपाल, भारतीय उद्योग परिसंघको सहकार्यमा काठमाडौंमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने कार्यलाई अगाडि बढाएकाले सहयोग गर्न अनुरोध गर्नु भएपश्चात राजदूतले यस कार्यमा पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए । 

महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, रामचन्द्र संघई, कार्यकारिणी समितिका सदस्यहरू, विभिन्न संघका अध्यक्षहरू, महासंघका महानिर्देशक समेतको उपस्थिति रहेको उक्त भेटवार्तामा उपाध्यक्ष दिनेश श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ