arrow

पदमार्ग बनेपछि चिटिक्क पर्‍यो चिनाकोट

logo
रासस
प्रकाशित २०७९ साउन ४ बुधबार
chinakot.jpg

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका वडा नं. ३ मा रहेको ऐतिहासिक पर्यटकीयस्थल चिनाकोट दरबार पुग्ने पदमार्ग निर्माण भएपछि चिनाकोट पुग्ने पर्यटक र चिनाकोटको सौन्दर्य दुवै बढेको छ ।

गण्डकी प्रदेशसभा सदस्य, पूर्व सामाजिक विकासमन्त्री नरदेवी पुनको सांसद विकास कोषबाट पूर्वाधार विकास कार्यालयमार्फत रकम परिचालन हुने गरी प्राप्त रु नौ लाख  र स्थानीयवासीको एक लाख १० हजार बराबरको श्रमदानबाट पदमार्ग निर्माण गरेपछि चिनाकोट चिटिक्क देखिएको हो ।

पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष दर्पण रोकाका अनुसार घाम्टाङदेखि चिनाकोट सम्मको करिब ४०० मिटर पदमार्ग निर्माण गरिएपछि ऐतिहासिक चिनाकोट दरबार पुग्न सहज भएको हो । घाम्टाङदेखि चिनाकोट सम्मको जम्मा ७०० मिटर बाटोमा करिब ६० प्रतिशतमा पदमार्ग निर्माण भएको अध्यक्ष रोकाले बताए ।

उनका अनुसार चिनाकोट पुग्नका लागि बाँकी पदमार्ग पनि निर्माण गर्न आवश्यक रहेको छ । “प्राप्त बजेट अनुसार काम गर्दै जाँदा अप्ठ्यारो ठाउँमा पुगेर पदमार्ग निर्माण रोकिएको छ, यो वर्ष पनि बजेटको आवश्यक छ”, रोकाले भने ।

आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै आएको चिनाकोटमा पुग्नका लागि पदमार्ग अति नै आवश्यक रहेको छ । हाल ढुङ्गाको सिँढी सहितको पदमार्ग निर्माण भएपछि चिनाकोट आवतजावत गर्ने पर्यटकलाई आधी बाटोसम्म यात्रा गर्न सहज भएको छ । 

चिनाकोटलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न यस अघि गाउँपालिकाले धुरीमा उक्लिनका लागि रेलिङसहितको पदमार्ग निर्माण गरिसकेको छ भने खानेपानीको व्यवस्थापन, टवाइलेट लगायतको पूर्वाधार निर्माण गरेको छ । बाइसे चौविसे राज्यको समयमा राजा बसेकाले चिनाकोटको महत्व विशेष रहेको छ ।

 चिनाकोटमा अझैपनि दरबारका भग्नावशेष, रानी बसेर कपाल कोर्न ढुङ्गा, पानी खाने कुवा, सिपाहीले सुरक्षाका लागि बनाइएका पर्खाललगायत रहेकाले ऐतिहासिक महत्वको चिनाकोटलाई संरक्षण र सम्वर्द्धन गरिने वडाध्यक्ष याम रोकाले बताए । 

समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको चिनाकोट दरबारलाई पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि मङ्गला गाउँपालिकाले गुरुयोजना तयार गरी पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । 

चिनाकोटबाट, मङ्गला, मालिका र बेनी नगरपालिकाका अधिकांश बस्तीसहित डाँडाकाँडाको दृश्यावलोकन गर्न सकिन्छ । धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे श्रृङ्खलका दर्जनौँ हिमशृङ्खला सन्दर दृश्यले त्यहाँ पुग्ने पर्यटकको मनै लोभ्याउने गर्दछ । चैत वैशाखमा चिनाकोट परिसरको वनैभरि ढकमक्कै फुल्ने लाली गुराँस त्यहाँको प्रमुख सुन्दरता हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ