arrow

डुम्रे-बेशीसहर सडक फेरि अवरुद्ध

logo
रासस
प्रकाशित २०७९ साउन ६ शुक्रबार
pahiro-dumre-besisahar.jpg

तनहुँ । निरन्तर अविरल वर्षासँगै आएको बाढी र पहिराले गएरातिदेखि डुम्रे-बेँशीसहर सडकखण्ड अवरुद्ध बनाएको छ । उक्त सडकअन्तर्गत बेँशीसहर नगरपालिका वडा नंं १ स्थित उदिपुरको देउराली डाँडामा पहिराले सडक अवरुद्ध बनाएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीले भने, “यस सडकको वैकल्पिकरुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने भागमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध पारेको छ ।” 

गए रातिदेखि परेको अविरल वर्षा अझै नरोकिँदा पहिरो जाने तथा लेदो खस्ने क्रम जारी रहेको रेग्मीको भनाइ थियो । पानी परिरहेकाले मर्स्याङ्दी नदीमा पानीको बहाव बढेमा उक्त सडक कटान गर्न सक्ने सम्भावना छ । पटक-पटक आएको बाढी र पहिराले यात्रा गर्न समस्या हुँदै  आएको छ । 

प्रहरीका अनुसार सडक अवरुद्ध भएसँगै कुनै पनि सवारी साधन आवतजावत हुन सकेको छैन । गत वर्ष र असार पहिलो साता गएको बाढीले डुम्रे-बेँशीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडक सञ्चालन हुँदै आएको थियो तर उक्त वैकल्पिक सडकसमेत बाढी र पहिराको चपेटामा परेको छ ।

गन्तव्यमा बिहानै जान लागेका यात्रु सडक अवरुद्धका कारण समस्यामा परेका छन् । पानी नरोकिएसम्म अवरुद्ध सडक खुलाउन असम्भव हुने बताइएको छ । वैकल्पिक सडकसमेत अवरुद्ध हुन थालेपछि काठमाडौँ, पोखरा, चितवनलगायत बेँशीसहर आवत–जावत गर्ने यात्रुलाई सास्ती भएको छ । उक्त सडकबाट मनाङवासी यात्रा गर्दै मनाङ पुग्ने गर्दछन् । डुम्रे-बेँशीसहर ४२ किलोमिटरको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ