- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म्याग्दी । दार्शनिक रुसोले ‘प्रकृतिमा आश्रित मानिस कहिल्यै बुढो हुँदैन, प्रकृतिले मानिसलाई सधैँ जवान बनाइरहन्छ’ भनेका थिए । नभन्दै उनको यो उक्तिलाई म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं. ४ को दुर्गम गाउँ बगरा गाउँका १०५ वर्षीय पनाजु पुर्जाको दैनिकीले पनि सत्य साबित गरिदिएका छन् ।
मानिसले भौतिक क्षेत्रमा जति नै ठूलो उन्नति गरेको भए पनि मानसिक शान्ति र शारीरिक स्फुर्तिलाई भने गुमाउँदै गएको वर्तमान समयमा कुनै रोग नलागी ६० वर्ष पार गर्न सक्यो भने ‘धन्य’ मान्नुपर्ने अवस्था छ । तर बगरा गाउँमा धवलागिरि हिमालको जस्तै आभा लिएर बिहान ५ बजे नै घरको आँगनमा निस्केर हिमाल हेर्दै मुसुक्क मुस्कुराउछन् पनाजु ।
उनी शौचादी नित्यकर्मपछि घर नजिकै छङ्छङ् गर्दै बगेको अर्जे खोलामा गएर चिसो पानीले मुख धोई घरमा आएर बुहारीले दिएको तातोपानी र चिया पिएपछि एउटा हँसिया खुर्पेटोमा भिरेर जङ्गलतर्फ लाग्छन् । पुर्जाका वल्लोपल्लो घरका छोरा, भतिजा र बटुवाहरुसँग हालखबर बुझ्दै सुस्तसुस्त पाइला अघि बढ्छन् ।
गाउँ परको खोरियामा बुट्यान र झाडीलाई छिचोल्दै निगालो काटेर भारी बाँध्छन् । निगालो काट्दा, भारी बाँध्दा र थकाइ मेटाउँदा करिब तीन घण्टा बित्छ । भारी बोकेर विस्तारै गाउँतिर झर्छन् र घरमा पुगेर भारी बिसाएपछि आँगनमा रहेको ठूलो लाम्चो ढुङ्गामा एक छिन सुस्ताएपछि खाना खान घरभित्र पस्छन् ।
दिनभर जङ्गलबाट ल्याएको निगालोको चोया बनाउन शुरु गर्छन् । पुर्जाले चोयाबाट भकारी, मान्द्रो, डोकोलगायत घरायसी कृषि सामग्रीहरु बुनेर बुढ्यौलीलाई भुलाइरहेका मात्र छैन केही आम्दानी पनि गरिरहेको नाति होमबहादुर बताउछन् । पुर्जाको दैनिकी देखेर यहाँ पुग्ने पर्यटकहरुले उनको तस्वीर लिन्छन् । उपहार दिन्छन् र उनको प्रशंसासहित सुस्वास्थ्यको कामना गर्ने गर्छन् ।
पुर्जाको बिहानको खाना सधैँ कोदो, मकै, गहुँ, जौको पीठोबाट बनाइएको ढिँडो हो । ढिँडोसँगै उनलाई गेडागुडीको झोल र मोही अनिवार्य चाहिन्छ । पुर्जा अझै पनि उकालो बाटो ठमठम हिँडेर जङ्गल र गाउँ बेँशी गर्छन् । उनी एकछिन पनि बेफुर्सद हुन चाहन्नन् ।
आज बिहान मोबाइलमा कुरा गर्दै १०५ वर्षीय पनाजुले भने, “उमेर ढल्के पनि अझ धेरै बाँचुम्बाँचुम् लाग्दो रै छ ।” उमेरले ६० वसन्त पार गरेपछि मानिसहरु बुढ्यौली लाग्यो भनेर आफूले गर्दै आएका कामप्रति रुचि घटाउँछन् र विस्तारै निष्क्रिय जीवनतिर लाग्छन् । तर उनले आफ्नो बुढ्यौलीलाई जितेर ढिकीजाँतो, मेलापात गर्नाका साथै वनजङ्गलबाट निगाला ल्याई घरायसी कृषि सामग्रीहरु बनाउने काममा व्यस्त रहन्छन् ।
आफूलाई भेट्न आएका मानिससँग कुरा गर्दै काम गरिरहने पुर्जा कसैसँग कहिल्यै पनि नरिसाउने र रुखो नबोल्ने त्यसै गाउँका देवान छन्त्यालको भनाइ छ । उनलाई आफ्नो जीवन गोठ, जङ्गल र खर्कमा नै बितेकाले यसैमा आनन्द लाग्दछ । नाति होमबहादुरले भने, “नपुग्दो केही छैन, सबै चीज छ । तर हातखुट्टा चलुन्जेलसम्म काम गर्न छोड्नु हुँदैन भनेर काम गरिरहनुहुन्छ ।”
उनलाई अहिलेसम्म सामान्य रुघाखोकीबाहेक अरू जटिल कुनै रोग छैन । पछिल्लो समय कान अलि कम सुन्ने गरेका उनलार्ई अरू कुनै स्वास्थ्य समस्या छैन । उनले भने, “जहिलेसम्म शरीर चल्छ, त्यतिबेलासम्म काम गर्न छोड्दिन, शरीर चल्नै छोड्यो भने त के गरी काम गर्ने हो र ?” कहिलेकाहीँ अलि दम बढेको जस्तो भयो भने उनी आफैँ जङ्गली लहरालाई थिचेर झोल बनाई पिउने गर्छन् ।
गत जेठदेखि १०५ वर्षमा प्रवेश गरेका पनाजुको बालापन, युवावस्था र ८५ वर्षसम्मको वृद्धवय गाई भैँसीसँग गोठ बसेर धवलागिरि हिमालको फेदीमा रहेका खर्कहरुमा बित्यो । जङ्गली कन्दमूल, आँटो पीठो र दूध, दही, घीउ खाएको तन्दुरुस्त जीउ भएका पुर्जाको अनुहार चाउरिएर बुढ्यौलीको परिचय दिए पनि उनको जोश, मिजासिलो स्वभाव, हँसिलो व्यक्तित्व र जाँगरिलो आनीबानीले युवापनको आभास दिलाइरहने उनलाई चिन्नेहरु बताउँछन् । ८५ वर्षको उमेरसम्म खादीका कपडा मात्रै लगाएका पुर्जाले अहिले भने छोरा नातिले ल्याइदिएका न्याना कपडा लगाउने गरेका छन् ।
पाँच छोरी र तीन छोराका पिता पनाजुकी श्रीमती ओममती अहिले ८६ वर्षकी भइन् । लोग्नेभन्दा १९ वर्षले कान्छी ओममती घरको सबै काम गर्छिन् । खाना पकाउने, खुवाउने, भाँडा सफा गर्ने, श्रीमानका कपडा धोइदिने सबै काम गर्न सक्छिन् । उनका छोरातर्फका १२ नातिनातिनी छन् । उनीहरु कोही अध्ययनका लागि सहरमा छन् त कोही रोजगारीका लागि विदेशमा ।