arrow

सहुलियत ऋण नपाए उद्योग बन्द गर्ने चेतावनी

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ साउन ११ बुधबार
dilendra-badhu-janakpur.jpg

जनकपुरधाम । जनकपुरधामका उद्योगी व्यवसायीहरुले भूकम्प र कोरोना सहितको विपदबाट निजी क्षेत्र तथा उद्योग व्यवसाय पिरोलिएको भन्दै सहुलियत ॠण उपलब्ध नभए उद्योगहरु बन्द गर्ने चेतावनी दिएका छन् । 

देशका रुग्ण उद्योग के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगमनका क्रममा जनकपुरधामस्थित जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) को अनुगमनका लागि आएका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको स्वागत तथा सम्मानमा जनकपुरधाम उद्योग बाणिज्य संघले गरेको कार्यक्रममा व्यवसायीहरुले आफूहरु मर्नु न बाँच्नुको अवस्थामा रहेको बताउँदै कम्तीमा सहुलियत ॠणका लागि पहल गरिदिन मन्त्रीलाई आग्रह गरे।

सो दुखेसो व्यक्त गर्नेमा महेन्द्रनगरस्थित एभरेष्ट पेपर मिलका सञ्चालकहरु थिए । व्यापारीहरुले नेपाल सरकारले निजी क्षेत्रलाई प्रतिस्पर्धी भन्दा पनि सरकारकै एक सहयात्रीको रुपमा बुझिदिन सरकारलाई आग्रह गरेका छन् । उनीहरुले तिनै तहको सरकारको उद्योग बाणिज्यबारे नीति नआएसम्म उद्योग व्यवसाय भरपर्दो हुन नसक्ने जानकारी गराए ।

सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष मनिषरमण साहले समग्रमा समेटिएका मागहरु सहितको ज्ञापन पत्र बुझाउँदै यस अघिका मन्त्रीहरु जस्तै ज्ञापन पत्र मात्र नबुझेर पहलकदमीका साथ व्यापार क्षेत्रको समस्याको समाधानसमेत गरिदिन मन्त्री बडूलाई आग्रह गरे ।

जवाफमा मन्त्री बडूले नेपाल सरकार आर्थिक मन्दीबाट बच्न उत्पादन, निर्यात, उद्योग र रोजगारका विषयमा गहन रुपमा काम गरिरहेको बताउँदै उद्योगी व्यवसायीको समस्या समाधानका लागि प्रतिवद्व रहेको बताए । 

सो अवसरमा अगामी भदौमा हुने संघको साधारणसभाका लागि मन्त्री बडूलाई प्रमुख अतिथिको आमन्त्रण पत्रसमेत प्रदान गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ