arrow

उद्यमीलाई सामग्री प्रदान

logo
रासस
प्रकाशित २०७९ साउन १२ बिहिबार
mil.jpg

रसुवा । गाउँ समाजमा छरिएर रहेका उद्यमीलाई घरेलु समिति रसुवाले प्रोत्साहनस्वरुप प्रविधि हस्तान्तरण गरेको छ ।

सिपको सदुपयोग गर्दै आयआर्जनमा लगनशील भएका तर आर्थिक अभावका कारण काम गर्ने सामग्री नभएका उद्यमीलाई प्रविधि व्यवस्थापनअन्तर्गत सामग्री उपलब्ध गराई नियमित रोजगारीमा लगनशील गराउन प्रोत्शाहन गरिएको हो । 

सार्वजनिक सूचनामार्फत खुलारूपमा सङ्कलन गरिएको माग फारमलाई सम्बोधन गर्दै उपलब्ध गराइएका सामग्रीले रोजगारिमा दिगोपन हुने अपेक्षा घरेलु समितिले गरेको छ । 

सामग्री गत वर्षको कार्यक्रमअनुसार उपलब्ध गराइएको हो । प्रविधि हस्तान्तरण कार्यअन्तर्गत ८० प्रतिशत सरकारी अनुदान एवं किसानको तर्फबाट २० प्रतिशत रकम जम्मा गरी दर्ता भएका विभिन्न ५६ उद्यमी र फर्मलाई सामग्री खरिदको व्यवस्था गरिएको हो ।

प्रविधि हस्तान्तरण कार्य नीतिअनुरूप उद्योगको कार्य क्षमताको आधारमा प्रति उद्योग रु ३० देखि रु ४० हजारसम्म उपलब्ध गराइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख आशिष दाहालले जानकारी दिए । 

अनुदान सहयोग गरिएका उद्योगतर्फ पशुपन्छी, धान कुट्ने, मकै पिस्ने, दाना बनाउने, बुट्टाकुध्ने मेसिन, दूध पेल्ने, छुर्पी बनाउनेजस्ता विविध प्रकारका उपकरण रहेको बताइएको छ । 

घरेलु समितिले प्रविधि हस्तान्तरणको साथै गत आर्थिक वर्षमा एक सय ६३ साना उद्योग एवं २२ वाणिज्य दर्ता गर्नुको साथै रु ३० लाख १३ हजार राजस्वसमेत आर्जन गरेको प्रमुख दाहालले बताए ।

सीपको सदुपयोगबाट ग्रामीण क्षेत्रको जीविकोपार्जनमा सरलता ल्याउने सरकारी नीतिअनुरुप गरिएका सहयोगका सदुपयोगबाट सामाजिक जागरण बढ्ने आशा गरिएको कार्यालयले जनाएकोे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ