म्याक्रोनले साउदीका राजकुमार भेट्दा अधिकारवादी समूह विरोधमा
एजेन्सी,
प्रकाशित २०७९ साउन १२ बिहिबार
1.7k
Shares
फाइल तस्बिर
काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले साउदीका राजकुमार मोहम्मद बिन सलमान (एमबीएस)लाई भेटेको बिषयलाई लिएर मानवअधिकार अभियानकर्ताहरूले आलोचना गरेका छन्।
साउदी मुलका अमेरिकी पत्रकार जमाल खशोग्गीको हत्यापछि युरोपको पहिलो भ्रमणको क्रममा पेरिसमा वार्ताका लागि साउदीका राजकुरमा सलमानलाई बोलाउने म्याक्रोनको निर्णयलाई विरोध भएको हो ।
विश्वको दोस्रो ठूलो तेल उत्पादक देशका डिफेक्टो लिडर राजकुमार सलमान बुधबार राति ग्रीसको रातो कार्पेट स्टपओभरपछि ओर्ली एयरपोर्टमा आइपुगेका थिए र उनलाई फ्रान्सेली अर्थमन्त्री ब्रुनो ले माइरेले स्वागत गरेका थिए।
युक्रेनमा रुसको आक्रमणपछि जाडो उर्जा अभावमा पश्चिमी चासो बढ्दै गएका बेला फ्रान्सेली राष्ट्रपतिले उनलाई तेल उत्पादन बढाउन आग्रह गर्ने अपेक्षा गरिएको छ। उनलाई बिहीबार एलिसी प्यालेसमा रात्रिभोजमा स्वागत गरिने छ।
सन् २०१८ मा इस्तानबुलको साउदी वाणिज्य दूतावासमा खशोग्गीको हत्या पछि प्रिन्स मोहम्मदको यो भ्रमणले बिशेष महत्व राखेको छ। यहाँसम्मकी संयुक्त राष्ट्र संघको अनुसन्धानले खशोग्गीको हत्याका लागि साउदी अरेबिया जिम्मेवार देखाएको थियो र यस्तै निश्कर्ष अमेरिकी गुप्तचरले समेत निकालेको थियो।
अहिले म्याक्रोनको यो निर्णयलाई लिएर मानव अधिकार समूहहरूले कडा आलोचना गरेका छन्। भ्रमणको विरोध गर्दै एम्नेस्टी इन्टरनेसनलका महासचिव एग्नेस कालामार्डले भनेका छन्,'राजकुमार मोहम्मदको फ्रान्स भ्रमण र बाइडेनको साउदी अरेबियाको भ्रमणले राजकुमार मोहम्मद हत्यारा बाहेक अरू केही हो भन्ने तथ्यलाई परिवर्तन गर्दैन।' थुप्रै नागरिक एवं संघ संस्थाहरुले अमेरिका र फ्रान्सको यो निर्णयको विरोध गरिरहेका छन्।