arrow

नागरिकता सम्बन्धी विधेयक फिर्ता लिन माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
Kshetri samaj nepal.jpg

पोखरा । क्षेत्री समाज नेपालले राष्ट्रिय तथा प्रतिनिधिसभाबाट हालैमात्र पारित नागरिकता सम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गरेको छ । समाजले शुक्रबार पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । 

अहिले संसदबाट पारित भएको विधेयकका कारण विदेशीलाई नेपालमा नागरिकता लिन सहज हुने र मुलुक विस्तारै फिजीकरण र सिक्किमीकरण हुने समाजको आरोप छ । साथै संविधानमा व्यवस्था नभएको अवस्थामा कानून बनाएर सहजरुपमा नेपालमा विदेशीलाई नागरिकता वितरण गरिनु राष्ट्रिय अस्मितामाथि नै खेलवाड गरिएको समाजले आरोप लगाएको छ । 

‘वंशजको अधिकारबाट नागरिकता प्राप्त गर्ने आधारबाहेक अन्य आधारबाट विदेशी नागरिकलाई नागरिकता दिनेक्रममा विभिन्न मुलुकमा आ-आफ्नै कानून रहेको छ’, समाजका अध्यक्ष प्रा. डा. दिलबहादुर क्षेत्रीले भने, ‘वैवाहिक अंगीकृत नागरिकता दिने सम्बन्धमा छिमेकी भारतमा विवाहको सात वर्षपछि मात्र नागरिकताको प्रक्रिया अघि बढाउने प्रावधान भएको पाइन्छ । कतिपय देशमा भारतको भन्दा बढी लामो अवधि पार गरेपछि मात्रै नागरिकता लिने प्रक्रिया अघि बढ्छ ।’

नेपालमा विदेशी महिलासंग वैवाहिक सम्बन्ध कायम हुनासाथ नागरिकता दिन सकिने गरि सरकारले विधेयक बनाएको भन्दै अध्यक्ष क्षेत्रीले यो विधेयकले आम स्वाभिमानी, राष्ट्रप्रेमी नेपालीलाई सम्वेदनशील बनाएको बताए । 

समाजले विधेयक फिर्ताका लागि दवावस्वरुप साउन १७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । समाजले प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको अध्यक्ष क्षेत्रीले बताए । 

अध्यक्ष क्षेत्रीले क्षेत्री समाज कसैको आस्था राख्ने थलो नभएको भन्दै अब पनि कुनै पनि राजनीतिक दल वा व्यक्तिको मुख हेरेर बस्यौं भने मुलुक बर्बादको बाटोमा जाने बताए । उनले जनतासंग मिलेर राष्ट्रघाति नागरिकता विधेयक फिर्ता गराएरै छाड्ने चेतावनी पनि दिए । यसका लागि समाजले जस्तोसुकै कदम अघि बढाउन सक्ने उनको चेतावनी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ