arrow

पहिराले डुम्रे-बेँसीसहर र बेँसीसहर-चामे सडक अवरुद्ध

logo
रासस
प्रकाशित २०७९ साउन २३ सोमबार
pahiro-dumre-besisahar.jpg

लमजुङ । अविरल वर्षाले आएको पहिराले गएरातिदेखि डुम्रे-बेँसीसहर र बेँसीसहर चामे सडक  पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ उदिपुरको देउराली डाँडा पहिरा र मस्र्याङ्दी गाउँपालिका-४ रामबजार पहिराले बेँसीसहर चामे सडक अवरुद्ध भएको हो । 

वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । 

उनका अनुसार पहिराले अवरुद्ध बनाएको सडक एक्साभेटरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ । यही भदौ ११ गते र गत असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो । 

सडक अवरुद्धका कारण बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुहरु बढी मारमा परेका छन् । यस सडक ४२ किलोमिटर दूरीको छ । 

यस्तै,  लमजुङ मनाङ जोड्ने बेँसीसहर-चामे सडकअन्तर्गत उक्त रामबजारमा पहिराले अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन । सडक माथिबाट ठूला ढुङ्गामाटा सहितको पहिरा खसेर सडक अवरुद्ध भइरहेको प्रहरीले जनाएको छ । 

यस सडक हुँदै विशेष गरी मनाङवासीहरु आवत-जावत हुने गर्दछन् । तर उनीहरुलाई यसरी पटक पटक सडक अवरुद्ध हुँदा समस्या हुँदै आएको छ । यस सडक ६५ किलोमिटरको दूरीमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ