काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडका लागि बनेको कार्यदलको तेस्रो बैठक आज बस्ने भएको छ ।
सत्ता गठबन्धनको निर्वाचन सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्दै छ ।
यसअघि बसेको बिहीबारको बैठकमा कार्यदल सदस्यहरूबीच ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, ०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको थियो ।
आन्तरिक छलफलपछि आजको बैठकमा आ-आफ्ना अडान प्रस्तुत गर्ने तयारी छ । मङ्सिर ४ का लागि सिट बाँडफाँट गर्दा २०७४ सालको संसदीय चुनावको मतलाई आधार मान्ने कि हालै सम्पन्न स्थानीय चुनावको नतिजालाई आधार मान्ने भन्नेमा गठबन्धन दलबीच मतान्तर देखिएको छ ।
आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कार्यदललाई छिटो प्रतिवेदन तयार पार्न निर्देशन दिइसकेको छ ।
काँग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको ११ सदस्यीय कार्यदलमा काँग्रेसबाट गगन थापा र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्। माओवादी केन्द्रबाट वर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन्।