arrow

फेरि दोहोरिन सक्छ अर्को क्रान्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
genz-kutakut.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालमा देखा परेको जेन-जी आन्दोलनलाई धेरैले आकस्मिक विस्फोटका रूपमा चित्रण गर्ने प्रयास गरे पनि यसको मूल कारण गहिरो छ । लामो समयदेखि जनताका आकांक्षालाई बेवास्ता गर्दै आएको सत्ता संरचना र स्थापित दलहरूको व्यवहार नै यस आक्रोशको प्रमुख स्रोत हो । जेन-जी आन्दोलनले देखाएको ऊर्जा लोकतन्त्रको आत्मसुधार गर्ने प्राकृतिक संयन्त्र हो, जसलाई नजरअन्दाज गर्दा भविष्यमा अझ ठूलो चुनौती पैदा हुन सक्छ।

तत्कालीन सत्तारूढ दलहरूले शासनसत्तामा बसेर जनताको आवाज सुन्नु त परै जाओस्, उनीहरूलाई वाक्क दिक्क हुने व्यवहार गरेका थिए । भ्रष्टाचार, गुटबन्दी, पहुँच नपाएकालाई अवसर नदिने प्रवृत्ति, अनि सरकारको ढिलासुस्तीले सामान्य नागरिकदेखि युवा पुस्तासम्मलाई निराश बनाएको थियो। यिनै कारणले गर्दा सडकमा उत्रिएका युवाहरूले "जेन-जी आन्दोलन" लाई एउटा प्रतीकका रूपमा अघि सारे ।

आन्दोलन सफल भएर नयाँ सरकार बनेर चुनावको घोषणा भइसक्दा पनि पुराना राजनीतिक दलका नेता विशेषहरुको प्रतिक्रिया चाहिँ आत्मालोचनात्मक हुन सकेन। उनीहरूले आन्दोलनको कारण पहिचान गर्नेभन्दा पनि बाह्य शक्तिहरूलाई दोषारोपण गर्ने शैली देखाए। यो प्रवृत्तिले समस्या समाधान गर्ने सम्भावनालाई झन् टाढा धकेल्ने खतर देखिदैछ। किनभने आन्दोलन केवल बाह्य घुसपैठको परिणाम होइन, बरु आफ्नै नेतृत्व वर्गले जनतालाई उपेक्षा गरेको दीर्घकालीन नतिजा हो भन्ने तथ्य स्वयं जनताले प्रष्ट महसुस गरिरहेका छन् ।

विशेषगरी पुराना दलका वरिष्ठ नेताहरूले आन्दोलनलाई केवल "घुसपैठ" भनेर खारेज गर्ने प्रवृत्ति देखाए। यसरी घटनालाई सामान्यीकरण गरेर वा दोषारोपण गरेर टार्ने हो भने समस्या ज्यूँका त्यूँ रहन्छ। अझ खतरनाक पक्ष के भने, यस्तै असन्तोष फेरि अर्को आन्दोलनका रूपमा विस्फोट हुन सक्छ। त्यसैले दलभित्रका नेताहरूले आफ्ना शीर्ष नेतृत्वलाई प्रश्न गर्नु जरुरी छ–जनता किन आक्रोशित भए ? किन पुराना दलहरूप्रति विश्वास खस्कियो ?

राजनीतिक दलका शीर्ष नेतृत्व मा अझै पनि आफ्नो नेतृत्वमा रहेको दलहरूप्रति विश्वास खस्किएको मान्न तयार देखिँदैनन्। उनीहरू पार्टीभित्र नयाँ पुस्तालाई अवसर दिने र पार्टीको पुनरसंरचना गरेर जाने विषयमा इच्छुक देखिँदैनन । पार्टीभित्र नयाँ ढङ्गले जाने युवा पुस्ताको सोचलाई उनीहरूले दरकिनार गर्न खोजेका देखिन्छन् । 

आफूले गर्न नसकेका कारण उत्पन्न यो जटिल परिस्थितिमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न समेत उनीहरु अग्रसर देखिँदैनन्। बरु पार्टीभित्र युवा पुस्ताले चलाएको पुनर्संरचना र नेतृत्व हस्तान्तरणको बहसलाई दबाउन चाहन्छन् । कांग्रेस लगायतका दलहरूमा चलिरहेको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व ल्याउने छलफल र बहसलाई रोक्ने प्रयास यसैको अर्को पाटो हो ।

यही बीचमा हामी अहिले अनावश्यक वैचारिक विवादमा अल्झिनु पर्ने स्थिति छैन । विश्वका ठूला विकासशील अर्थतन्त्रहरूसँग निकटता कायम गरेर देशको आर्थिक विकासतर्फ ध्यान दिनु अबको आवश्यकता हो। युवाहरूलाई अवसर सिर्जना गर्न सकिएन भने उनीहरू निराशा र आक्रोशतर्फ धकेलिन्छन्। यही निराशा फेरि अर्को आन्दोलनको इन्धन बन्न सक्छ ।

जेन-जी आन्दोलनले दिएको सन्देश स्पष्ट छ–जनतालाई बेवास्ता गरेर, पुरानै शैलीमा राजनीति गरेर अब टिक्न सकिँदैन। लोकतन्त्रलाई मजबुत बनाउन आत्मपरीक्षण, सुधार र जनआकांक्षासँग मेल खाने नीति आवश्यक छ ।

निष्कर्षमा भन्नुपर्दा नेपालका पुराना दलहरूले आत्मसुधार नगरे, नेतृत्वले जनताप्रतिको व्यवहार परिवर्तन नगरे र युवाहरूमाझ अवसर सिर्जना नगरे, अर्को आन्दोलन फेरि दोहोरिनु अपरिहार्य देखिन्छ । जेन-जी आन्दोलन केवल चेतावनीको घण्टी हो, यसलाई सुन्ने कि नसुन्ने भन्ने निर्णय अब दलहरूको हातमा छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ