arrow

देशलाई बन्धक बनाउने पार्टी र नेतृत्व परिवर्तन गर्न चुनावलाई उपयोग गर्नुपर्छ : लिङ्देन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३१ मंगलबार
Rajendra ligden pokhara.jpg

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई देशलाई संकट र चक्रब्यूहबाट मुक्त गर्न राप्रपालाई मतदान गर्नुपर्नेमा जोड दिएका छन् । 

पोखरामा मंगलबार राप्रपा कास्की क्षेत्र नं. १ को कार्यालय उद्घाटन गर्दै उनले देशलाई बन्धक बनाउने पार्टी र नेतृत्व परिवर्तन गर्न चुनावलाई उपयोग गर्नुपर्ने स्पष्ट पारे । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमार्फत शान्तिपूर्ण रुपमा पुराना दल र त्यसका नेतृत्व परिवर्तन गर्नुपर्ने उनले खाँचो औंल्याए । 

‘आउँदो चुनावलाई हामीले सधैं आउने चुनाव जस्तो एउटा नेता छान्न र फेर्ने अवसरका रुपमा मात्र होइन, देशलाई लामो समयदेखि बन्धक बनाएर राख्ने दल र तिनका नेताबाट मुलुकलाई मुक्त गर्ने अवसरका रुपमा हामीले उपयोग गर्नुपर्छ,’ अध्यक्ष लिङ्देनले भने ।

चुनावको मिति घोषणा नभएको भए श्रीलङ्कामा जस्तै नेपालीले पनि आन्दोलनमा उत्रनुपर्ने अवस्था आएको उनले बताए । ‘नेपाली जनताले श्रीलङ्काका जनताले जस्तै नेता विरुद्ध आन्दोलनमा उत्रुनुपर्ने अवस्था आइसकेको थियो, त्यसको नेतृत्व गर्न राप्रपा र यसका नेता कार्यकर्ता तयार हुनुपर्ने अवस्था थियो,’ उनले भने, ‘चुनाव घोषणा भइसकेकाले आन्दोलनबाट नभई शान्तिपूर्ण रुपमा मतदानबाट नेतृत्व परिवर्तनको अवसर आएको छ ।’

आउने चुनावमा हलो चुनाव चिन्ह एउटा व्यक्ति र पार्टीलाई जिताउनेमात्र नभई देशलाई संकट र चक्रव्यूहबाट मुक्त गर्ने साझा चिन्हका रुपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष लिङ्देनले सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने अवस्था आएको बताए । ‘देशभित्र हाम्रो उद्योगी व्यवापारीले कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थित छ, त्यसलाइ अन्त्य गरेर हाम्रै जीवनकालमा नेपाललाई समुन्नत बनाउनुपर्ने छ,’ उनले भने, ‘हाम्रो भाई छोरालाई यही देशमा गरेर खाने वातावण बनाउनुपर्छ ।’

मलेसिया, दुवई, कतार लगायतका देश नेपाली युवा गएर बनाएको भन्दै उनले अब युवाले आफ्नो देश बनाउनुपर्ने बताए । यसका लागि अठोट, हिम्मत र इमान्दार भएको नेतृत्व र असल प्रणाली आवश्यक पर्ने लिङ्देनको भनाइ छ । ‘अहिलेको प्रणाली र नेतृत्व परिवर्तन गर्न कसैले दृढतापूर्वक यो व्यवस्था परितर्वन गर्न र नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर कसैले भनेको छ भने त्यो राप्रपाले भनेको छ,’ उनले भने ।

लिङ्देनले अहिलेको व्यवस्थालाई संघीय व्यवस्था भने पनि प्रदेश सरकार खारेज हुनुपर्ने आफ्नो धारणा रहेको बताए । ‘नाम संघीयता राख्न हामीलाई आपत्ती छैन, तर प्रदेश खारेज हुनुपर्छ,’ उनले भने, ‘अहिले तीन तहका सरकार देशले धान्न सक्दैन, हामीले ऋण काढेर जनप्रतिनिधि पालेका छौं ।’

लिङ्देनले निर्वाचन प्रणाली महँगो भएको भन्दै सांसद बन्न मतदाता र प्रधानमन्त्री बन्न सांसद किन्नुपर्ने अवस्था आएको दाबी गरे । ‘अहिलेको जस्तो महँगो निर्वाचन प्रणालीमा सांसद हुन मतदाता किन्नुपर्ने । प्रधानमन्त्री हुन सांसद किन्नुपर्ने । प्रधानमन्त्री र मन्त्री भएपछि नीतिगत भ्रष्टाचार गरी देश लुट्र्ने र अर्को चुनावको जोहो गर्नुपर्ने स्थिति छ, यो भइन्जेलसम्म देश बन्दैन,’ उनले भने ।

राप्रपाले यस्तो विकृति हटाउन निर्वाचन प्रणाली परिवर्तनको माग राखेको उनले बताए । अब पूर्ण समानुपातिक सांसद, जनताले सोझै चुन्न पाउने प्रधानमन्त्री र अहिलेको राष्ट्रपतिको ठाउँमा राजा हुने व्यवस्था आवश्यक रहेको लिङ्देनले बताए ।

उनले २०४६ सालपछि बनेका प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानविन गर्नुपर्ने भन्दै त्यसको शुरुवात राप्रपाकै नेताबाट गर्न मागसमेत गरे । अहिलेका दलहरुले सत्तामा टिक्न विदेशीसँग साँठगाँठ गरेर हस्तक्षेप बढाएको उनले अरोप लगाए । गणतन्त्र स्थापनापश्चात देश विदेशी ऋणमा डुबेको उनको दाबी छ । ‘हिजो राजाको पालामा २९ अर्ब रहेको ऋण आज संघीयता कार्यान्वयनको सन्दर्भमा झण्डै १९ खर्ब पुग्न लागेको छ,’ उनले भने ।

राप्रपाले गएको महाधिवेशनबाट नेतृत्व परितर्वन गरेको भन्दै लिङ्देनले राजनीतिमा अहिले नेतृत्व गरिराखेको पुस्ताकै परिवर्तन आवश्यक रहेको बताए । राप्रपालाई विगतमा अभियोग लगाएजस्तो पुरानो दृष्टिकोण भएका पुराना मानिसको मात्र पार्टी नभएर पविर्तनका पक्षधरहरुको पार्टी भनेर प्रमाणित गरेको उनको दाबी छ ।

राप्रपाप्रतिको आकर्षण रोक्न नक्कली अभ्यास भइरहेको दाबी गर्दै उनले भने, ‘राप्रपाप्रति जुनविश्वास पैदा भइराखेको छ, त्योवीचमा खण्डित गर्न सकिन्छ कि भनेर प्रयास भइराखेको छ, हाम्रा नेता, कार्यकर्ता र मतदाता सचेत हुन जरुरी छ ।’

राप्रपा अध्यक्ष लिङ्देनले सोमबार पोखरामा आयोजित पार्टीको क्षेत्रीय कार्यालय उद्घाटनका क्रममा विभिन्न पार्टी परित्याग गरी आएका एक सय भन्दा बढीलाई राप्रपामा प्रवेश गराएका थिए ।

उनले सोमबार नै नर्मदेश्वर मोक्षधाम भण्डारढिकमा हरिनाम संकीर्तनमा पुगेर पूजाआजा गरेका थिए । अध्यक्ष लिङ्देन पोखरा आएका अवसरमा राप्रपा गण्डकीका नेता कार्यकर्तासँग भेटघाट गरी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ