arrow

बिरुवा बचाउनै मुस्किल

logo
रासस
प्रकाशित २०७९ भदौ २ बिहिबार
Plant.jpg

चितवन । जिल्लामा हरेक वर्ष दुई लाखभन्दा बढी बिरुवा रोप्ने गरिएको छ । ती रोपिएका बिरुवा कति हुर्किए र कति मरे भन्ने तथ्याङ्क कसैसँग छैन । यद्यपि धेरै बिरुवा मर्ने गरेको सुन्ने गरिन्छ ।

डिभिजन वन कार्यालय चितवनबाट मात्रै यो वर्ष दुई लाख ५० हजार बिरुवा सर्वसाधारणका लागि वितरण गरिएको छ । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार यहाँ उत्पादित बिरुवा लानेमा अधिकांश व्यक्ति रहेका छन् । करिब ८० प्रतिशत व्यक्तिले बिरुवा लाने गरेका छन् भने २० प्रतिशत संस्थागतका छन् । 

व्यक्तिले लैजाँदा सामान्य दुई-चारवटा लाने भएकाले ती बिरुवा हुर्कन्छन् भने संस्थाले धेरै बिरुवा लैजाँदा ती स्याहारसुसारका कारण हुर्कन कठिन हुने गरेको उनले बताए । उनले भने, “यहाँबाट लगिएका बिरुवामा ६५ प्रतिशत बच्यो भने वृक्षरोपण सफल भएको मानिन्छ तर ५० प्रतिशत पनि बच्न कठिन हुने गरेको छ ।”

बिरुवा लैजानेमा आमा समूह, सामुदायिक वन, टोल सुधार संस्था, रोटरी क्लब, लायन्स क्लब, कबुलियती वन, विभिन्न व्यावसायिक संस्था, व्यवसायी र व्यक्ति छन् । वन कार्यालयले तेजपात, टिक, सितल चिनी, म्याङ्गोस्ट्रिक, कपुर, धुपी, निमलगायतका ३९ जातका बिरुवा उमारेर बिक्री वितरण गरेको थियो । यस वर्ष सबैभन्दा बढी बिरुवा लगेको मल्ल कृषि फार्म रत्ननगरमा अहिले जम्मा १५ प्रतिशत बिरुवामात्रै बाँचेको छ । 

सो फार्मले छ हजार पाँच सय बिरुवा लगेको थियो । अहिले जम्मा एक हजार बिरुवामात्रै बाँचेको फार्मका सञ्चालक विक्रम मल्लले जानकारी दिए । उनले भने, “बिरुवा सानो भयो र रोपेपछि पानी पर्यो, जसले गर्दा बचाउन सकिएन ।” डिभिजन वन कार्यालयले राम्रो काम गरेको भए पनि रोपिसकेपछि बिरुवा बचाउन मुस्किल हुने गरेको उनको भनाइ छ ।

यस्तै, चार हजार पाँच सय बिरुवा लगेको अविनास ह्याचरीमा अहिले एक हजार हाराहारी बिरुवा मरेका छन् । ह्याचरीका कर्मचारी गोपी न्यौपानेका अनुसार रोप्नका लागि खाल्डा तयार परिएको ठाउँमा लगाइएका सरेको भए पनि तत्काल तयार पारिएको खाल्डामा लगाइएका बिरुवा मर्ने गरेका छन् । उनले भने, “बिरुवा लगाउनका लागि करिब १५ दिनअघि खाल्डो तयार पार्नुपर्ने रहेछ”, अहिलेको बिरुवाले आफूहरूलाई पाठ सिकाएको उनले बताए । 

नवजागृति सामुदायिक वन भरतपुर-११ ले एक हजार नौ सय ३५ बिरुवा लगेर उपभोक्तालाई वितरण गरेको छ । ती बिरुवा लगेपछि उपभोक्ताको गुनासो नआएको कार्यालयका सचिव कृष्ण पोख्रेलले बताए । बिरुवा बचेको या मरेको भन्ने विषयमा भने अनुगमन नभएको उनले जानकारी दिए । घर अगाडि लगाएको होस् या बारीमा लगाएको बिरुवा होस् यसको हेरचाह राम्रोसँग नहुँदा मर्ने गरेको उनले बताए । 

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी खनालका अनुसार धेरै बिरुवा लैजानेले लगाउने समयमा प्राविधिक कुरामा ख्याल नगर्दा, धेरै हुँदा हेरचाह नपुगेर बिरुवा मर्ने गरेको बताए । लगाएको कतिपय ठाउँमा भौतिक संरचना निर्माण र जग्गा खण्डीकरण हुने हुँदा समेत रोपिएका बिरुवा बचाउन कठिन हुने गरेको उनको भनाइ छ । उनले भने, “हरेक वर्ष बिरुवा उत्पादनका लागि रु २० देखि २५ लाख खर्च हुन्छ ।” यो खर्च नर्सरी मर्मतबाहेकको हो । उत्पादित बिरुवा वितरणपछि बचाउन नसक्नु समस्याको रूपमा रहेको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ