arrow

विदेशी मुद्रा संचितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
chandra-dhakal-broom-assocation.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा संचितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्ने बताए।

नेपाल कुचो सङ्घको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रूपमा शनिवार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले मुलुकमा देखिएको विदेशी मुद्रा संचितिको समस्या समाधान गर्न कृषि उपजको उत्पादन तथा निर्यात बढाउनुपर्ने बताए।

“कृषि उपजहरूको उत्पादन तथा निर्यात बढाउन सकियो भने मात्र हाम्रो आर्थिक गतिविधि चलायमान हुन्छ। यसले एकातर्फ हाम्रो आयात प्रतिस्थापन गर्न सहयोग पुग्छ भने अर्कोतर्फ निर्यात बढाई विदेशी मुद्रा संचितिमा समेत सहयोग पुग्छ,” उनले भने।

उनले कृषिको विकास तथा यस क्षेत्रको समस्या समाधान गर्न नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षको रूपमा आफूले पहल गर्ने बताए।

“यस क्षेत्रबाट मात्र औपचारिक तथा अनौपचारिक रूपमा लगभग ४ अर्ब रुपैयाँको निर्यात भएको भन्ने सुनेको छु। यसलाई अझ बढाउन आवश्यक छ। तपाईँहरूले यस क्षेत्रका समस्याहरू लिखित रुपमै तयार गरेर आउनुभयो भने म नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षको रूपमा महासङ्घको तर्फबाट नेपाल सरकार तथा सरोकारवाला निकायसँग छलफल गरी तपाईँहरूका समस्या समाधान गर्न तयार रहनेछु,” उनले भने।

उनले नेपाल भूपरिवेष्टित मुलुक भएको हुनाले नेपालले कुनै पनि वस्तु आयात तथा निर्यात गर्दा समस्या रहेको बताए। 
वरिष्ठ उपाध्यक्ष ढकालले नेपाल अहिले रेमिट्यान्समा आश्रित रहेको बताउँदै कृषि, पर्यटन तथा जलविद्युत क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए।

“कृषि उपजलाई निर्यात गर्ने, पर्यटनलाई प्रवर्द्धन गर्ने र जलविद्युत उत्पादन गरी निर्यात गर्ने जस्ता तीन वटा मात्र काममा फोकस गर्न सकेमा नेपालले अहिलेको जस्तो रेमिट्यान्स क्षेत्रको मात्र भर पर्न नपर्ने हुन्छ,” उनले भने।

वरिष्ठ उपाध्यक्ष ढकालले सङ्घको प्रथम वार्षिक साधारण सभाको सफलताको कामना गर्दै सङ्घको साधारण सभाबाट सक्षम र क्रियाशील नेतृत्व चयन हुने विश्वास समेत राखे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ