arrow

कुचो संघमा फेरि कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
nepal-kucho-sangh.jpg

काठमाडौं । नेपाल कुचो संघमा फेरि पनि राजकुमार कार्कीले नेतृत्व सम्हाल्ने भएका छन् । संघको केन्द्रीय समितिको प्रथम अधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा कार्की सर्वसम्मत भएका हुन् । काठमाडौंंमा शनिबार भएको अधिवेशनबाट कार्की दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । 

वरिष्ठ उपाध्यक्षमा ख्याम पोखरेल निर्वाचित भएका छन् । उपाध्यक्षमा मातृका घिमिरे, रविन्द्र खड्का र सुबास बोलछे चयन भएका छन् । महासचिवमा धनपति पोखरेल र कोषाध्यक्षमा रुष्मा खतिवडा चयन भएका छन् । 

सदस्यमा सुरेश चौधरी, देवनारायण चौधरी, बमबहादुर तामाङ, मनोज शाह, रोहित शाह, राजकिशोर चौधरी, राम आचार्य, प्रल्हाद शाह, आइतराज लिम्बू, गीता भट्टराईलगायत २१ जना कार्यसमितिमा चयन भएका छन् । 

दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष कार्कीले आफ्नो कार्यकालमा देशभर रहेका सबै अम्लिसो किसान तथा व्यवसायीको समस्या समाधानका लागि सरकारसँग समन्वय गर्ने तथा भारत, बंगलादेश, थाइल्याण्डमा कुचोको निर्यात बढाउने प्रतिवद्धता जनाएका छन् । 

उनले हाम्राकुरासँग भने, ‘देशभरी भएका कृषकलाई गुणस्तरीय अम्लिसो खेतीतर्फ आकर्षित बनाएर लैजाने, अरु निकासी जस्तै अम्लिसोमा सरकारसँग सहुलियत माग्ने र बंगलादेशमा ५१ प्रतिशत ट्याक्स मागेको छ । त्यसलाई कम गराउन सरकारलाई पहल गर्न झक्झक्याउने गरी तीन वटा एजेन्डालाई समाधान गर्ने गरी अगाडि बढेको छु ।’

उनका अनुसार संघमा अहिलेसम्म देशभरबाट एक सय १५ सदस्य आवद्ध रहेका छन् । उनले भने, ‘नयाँ भएकाले ११५ जनामात्र छौं । तर छिट्टै दुई सयको हाराहारीमा हुनेछौं । सबैलाई समेट्दै जानेछौं ।’

यसअघि अधिवेशनको उद्घाटन सत्रमा चिया र अलैंची जस्तै कुचोलाई पनि निर्यातजन्य कृषिवस्तुको रुपमा मान्यता दिन माग गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बढ्दो वैदेशिक व्यापार घाटालाई कृषिजन्य वस्तुको निर्यातले प्रतिस्थापन गर्ने बताए । उनले कृषिजन्य वस्तुको निर्यात प्रबद्र्धन र बजारीकरणमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । 

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, पूर्व उपाध्यक्ष उमेशलाल प्रधान, गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपकुमार रिसाल, इलाम नगरपालिकाका नगरप्रमुख केदार थापा लगायतका अधिकांश वक्तले कृषिजन्य वस्तुको निर्यात प्रबद्र्धनमा सरकारले जाने दिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा अलैंची तथा कुचो संरक्षक राजेन्द्र घिमिरे, उत्कृष्ठ निर्यातकर्ता सञ्जीव शाह, कुचो व्यवसायी लक्ष्मण ढुंगेल, व्यवसायी रामप्रसाद बोलखे, रघुनाथ कट्टेलसुहित दुई संचारकर्मीलाई पनि सम्मान गरिएको थियो । 
 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ