arrow

बागलुङको भकुण्डेमा किबी खेती फस्टाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
kiwi-farming-nepal.jpg.jpeg

बागलुङ । बागलुङ नगरपालिका-१० भकुण्डेका हर्कबहादुर थापाले लगाएको किबीको एउटा बोटमा मात्रै गत वर्ष एक सय ५० किलो फल्यो । थापाले बारीमा पाँच बोट मात्रै किबी लगाएका छन् । पाँच बोटमै वार्षिक पाँच सय किलो किबी फल्ने गरेको उनी बताउछन् ।

मलजल र थाक्रो भएमा एउटै बोटमा धेरै किबी फलाउन सकिने थापाको अनुभव छ । “पहिला किबी परीक्षणका लागि लगाए, अब अन्य स्थानमा खेती विस्तार गर्ने योजनामा छु”, उनले भने । अहिले भकुण्डेमा थापासहित अन्य किसानले व्यावसायिक रुपमा किबी खेती गर्दै आएका छन् । पछिल्लो समय किबी खेती गर्ने किसानको संख्यामा बढ्दै गएको छ । काँटछाँट र उचित हेरचाह गर्नसके मनग्य आम्दानी गर्न सकिने किसान बताउँछन् । 

पर्यटकीय गाउँका रुपमा परिचित भकुण्डेको उपल्लो भागमा घरबास (होमस्टे) फस्टाउँदै गएको छ । सोही क्षेत्रमा किबीको सफल उत्पादन भइरहेको छ । पाहुनाले किबी रुचाउने गरेकाले बजारको समस्या नभएको अतिथि सत्कार घरबासका सञ्चालक इन्द्रकुमारी थापाले बताए । भकुण्डेमा फस्टाउन थालेको किबी खेतीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइने बागलुङ-१० का वडाध्यक्ष तिलबहादुर थापा बताउछन् । 

“किबी खेतीको राम्रो सम्भावना छ”, उनले भने । भकुण्डेको तल्लो भागमा सुन्तला खेती र उपल्लो भागमा किबी खेतीका लागि किसानलाई प्रोत्साहन गर्ने योजना वडा कार्यालयसँग छ । किबी प्रतिकिलो स्थानीय बजारमा रु तीन सयदेखि रु तीन सय ५० सम्ममा बिक्री हुन्छ । किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु, रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्छ ।

बजारमा माग बढ्दै गएको बागलुङ नगरपालिकाका कृषि शाखाप्रमुख राहुल केसीले जानकारी दिए । किवी खेती एक हजार दुई सयदेखि दुई हजार फिटसम्मको उचाइमा गर्न सकिन्छ । रोपेको तीन वर्षपछि किबीले उत्पादन दिन थाल्ने किसान बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ