- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राखेको उक्त विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
यसअघि आइतबार बसेको पहिलो बैठकमा प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ विधेयक फिर्ता गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश राष्ट्रिय सभा बैठकमा सुनाइएको थियो ।
उक्त विधेयकका केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संघीय संसदमै फिर्ता पठाएकी हुन् ।
प्रतिनिधि सभाले एक अक्षर पनि तलमाथि नगरी विधेयक पुनः पारित गरेकामा राष्ट्रिय सभामा भने पुनर्विचार हुने भएको छ । चाहेको भए पाँच दलीय गठबन्धनले हुबहु पारित गर्न सक्ने थियो ।
तर सरकार यहाँनेर लचक देखिएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बिहीबार दिउँसो २ः५९ बजे बस्नेछ ।