- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलबाट प्रमुख प्रतिपक्ष दल एमाले बाहिरिएको छ । सोमबार उक्त विधेयकमाथि छलफल भएको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकबाट एमाले बाहिरिएको हो ।
दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकका विषयमा संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा फिर्ता पठाएकी थिइन् ।
तत् पश्चात बसेको प्रतिनिधिसभा बैठकले पुनः विना संशोधन जस्तोको तस्तै पारित गरि राष्ट्रिय सभामा पठाएको छ । राष्ट्रिय सभाले थप छलफल र पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा आइतबार सो विधेयक पठाएको छ ।
यसपछि सोमबार बसेको विधायन समितिमा सो विधेयकमाथि छलफल भएको छ । उक्त छलफल नै छाडेर एमाले बाहिरिएको हो । यद्यपि एमालेले बैठक भने बहिस्कार गरेको होइन ।
बैठक चलिरहँदा बाहिर अर्को बैठकमा सहभागी हुनुपर्ने भन्दै एमाले सांसद बाहिरिएका हुन् । एमाले सांसदहरु बाहिरिएपछि बैठक १६ भदौ दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।
आगामी बुधबार बस्ने बैठकले सो विधेयक पारित गर्ने समितिको तयारी छ ।
यसअघि एमालेले नै विधेयकको विरोध गरेको थियो । गम्भीर विषयमा छलफल नै नगरेको भन्दै प्रतिनिधि सभामा आक्रोश पोखेको एमाले राष्ट्रिय सभामा भने गैरजिम्मेवार बनेको हो ।
प्रतिनिधि सभाबाट दोस्रो पटक पनि पारित भइसकेको विधेयकमा राष्ट्रिय सभामा छलफलका क्रममा छ ।