arrow

कैदीबन्दीलाई पुस्तक उपहार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
Baglung karagar.jpg

बागलुङ । बन्दी जीवन बिताइरहेकालाई पठन संस्कृति र सकारात्मक सोचतिर प्रेरित गर्न पुस्तक उपहार दिइएको छ । १५औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा विद्यामन्दिर पुस्तकालयले सोमबार बागलुङ कारागारमा पुगी पुस्तक प्रदान गरेको हो ।

साहित्य, इतिहास, दर्शनलगायत विधाका २६ थान पुस्तक कारागारलाई हस्तान्तरण गरिएको पुस्तकालयका सचिव रामचन्द्र शर्माले जानकारी दिए । रु आठ हजार मूल्य बराबरका ती पुस्तक कारागारमा रहेको पुस्तकालयमा रहने गरी प्रदान गरिएको हो ।

पुस्तक ग्रहण गर्दै कारागार प्रमुख डिलबहादुर केसीले कैदीबन्दीलाई लक्षित गरी जीवनपयोगी र ज्ञानबद्र्धक पुस्तक दिएकोप्रति पुस्तकालयको प्रशंसा गरे । “अनेक कारणले कानूनको परिबन्धमा परेर कैदीजीवन बिताइरहेकालाई सत्विचार लिन, ज्ञानको दायरा बढाउन पुस्तकले मद्दत पुग्नेछ”, उनले भने ।

कारागारलाई पाठशाला बनाउने हेतुले गत महिना मात्र कारागारभित्रै पुस्तकालय स्थापना गरिएको प्रमुख केसीले उल्लेख गरे । अन्तर्राष्ट्रिय बागलुङ समाज र नेपाल लाईबे्ररी फाउण्डेशनको सहयोगमा उक्त पुस्तकालय सञ्चालनमा ल्याइएको हो ।

विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले साताव्यापी रुपमा दिवस मनाउने सिलसिलामा कारागारलाई पुस्तक हस्तान्तरण गरिएको बताए । उनले उपहार स्वरुप दिइएका पुस्तक सदुपयोग हुनेमा विश्वास व्यक्त गरे ।

उक्त पुस्तकालयले विसं २०२० तिर घुम्ती पुस्तकालय सञ्चालन गरी कारागारमा रहेका केदीबन्दीसम्म पुस्तक पुर्याउने गथ्र्यो । त्यसताका गृहणीका लागिसमेत उपयोगी पुस्तक घरघरै पुर्याउने गरिएको पुस्तकालयका पूर्वअध्यक्ष महेशचन्द्र प्रधानले स्मरण गरे । अहिले भने घुम्ती पुस्तकालय सञ्चालनमा छैन ।

राणाकाल छँदा विसं २००३ मा स्थापित विद्यामन्दिर पुस्तकालय देशकै अग्रणीमध्येमा पर्छ । प्रतिकूल स्थितिमा खुलेका कारण पनि यसको अलग्गै पहिचान र गरिमा छ । यस क्षेत्रको शैक्षिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जागरणको केन्द्रको रुपमासमेत विद्यामन्दिर पुस्तकालयलाई लिइन्छ । 

स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर शुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १५ हजार पुस्तक छन् । पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय (इलाइब्रेरी) पनि छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्तकालय अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालित छ । 

पुस्तकालयले बर्सेनि पुस्तकालय दिवसलाई विशेष रुपमा मनाउँदै आएको छ । बिहीबादेखि साताव्यापी कार्यक्रमसहित दिवस मनाउन सुरु गरिएको पुस्तकालयले जनाएको छ । शुक्रबार पुस्तकालयको बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण गरिएको थियो । 

शनिबार साहित्यिक संस्थासँगको सहकार्यमा मोती जयन्ती, आइतबार माध्यमिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ । आज कारागारलाई पुस्तक हस्तान्तरणसँगै पुस्तकालय परिसर सरसफाइ गरिएको जनाइएको छ । मङ्गलबार पुस्तकालयको सभाकक्षमा चित्रकला प्रदर्शनी हुनेछ ।

बुधबार दिवसको मूल समारोह आयोजना गरिएको छ । यस वर्ष ‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ” भन्ने आदर्श वाक्यसहित दिवस मनाइँदैछ । भाषा, वाङ्मयप्रेमीले पुस्तकालय दिवसलाई महत्वका साथ लिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ