arrow

हाँसेको आरोपमा शिक्षकले विद्यार्थीलाई बेहोस हुने गरी पिटे, मार्ने धम्की आएको अभिभावकको गुनासो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
teacher-student-pitai-.jpg

रुपन्देही । विद्यालयमा अध्ययन गर्न पठाएको छोरालाई शिक्षकले कुटपिट गरी घाइते बनाएको खवर सुन्दा सायदै जो कोही अभिभावकको मन दुखी नहुने कुरै भएन । 

पछिल्लो समय विद्यालयमा शिक्षकहरुले विद्यार्थी कुट्ने प्रवृत्तिले विद्यार्थीहरुको मनोविज्ञानमा असर पर्दै आएको पाइएको छ । त्यस्तै घटना बुटवलको दीप बोडिङ्ग हाइस्कुलमा सोमबार भएको छ । शिक्षकले एक विद्यार्थीलाई निर्घात कुटपिट गरेको पाइएको हो । 

यस विषयमा अभिभावकले मंगलबार रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा पीडित विद्यार्थी जेनित रायमाझीले भने, ‘कलास चलिरहेको बेलामा म मुसुक्क हाँसेको हुँ । मेरो कमजोरी त्यति मात्रै हो । त्यही निहुँमा मलाई सरले झर्केर बोलाउनु भयो, म सर कहाँ गएँ र भनेँ सर हाँसेकोमा गल्ती भयो माफी पाऊँ । तर सरले किन हाँसेको, किन हाँसेको भन्दै मेरो गालामा हान्नुभयो । पटक–पटक गरी मलाई हानिरहनु भयो । जुन कुटपिटले म घाइते बन्न पुगेँ । एकछिनसम्म कान बन्द, अचेत जस्तै भएँ । अहिले पनि म त्यही पिटाईले गर्दा बेला बेलामा झस्किरहन्छु ।’ 

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न–५ घर भएका जेनितलाई सोही विद्यालयका शिक्षक एकराज गुरागाईंले निर्घात कुटपिट गरेर घाइते बनाएका हुन् । कुटपिट भएका विद्यार्थी जेनित घर गएपछि उनकी आमा चन्दा रायमाझीले फोन गरेर विद्यालयका प्राचार्य टिकाराम न्यौपानेलाई कुटपिट वारेमा सोधपुछ गर्दा उल्टै प्राचार्य न्यौपानेले ‘तँ को होस् ? तेरो हैसियत के हो ? मसँग यसरी बोल्ने तमिज त्यही हो ?’ भन्दै थर्काएको पीडित विद्यार्थीकी आमा चन्दाले पत्रकार सम्मेलनमा रुँदै यस्तो बताएकी हुन् । 

पिडित विद्यार्थीका बुबा डीबी रायमाझीले विद्यार्थीलाई कुटपिट र यातना दिएर गर्ने व्यवहार दीप बोडिङ्ग स्कुलको नयाँ नभएको वताउँदै, आफ्नै छोरालाई निर्घात कुटपिट गरेको बारेमा कुराकानी गर्दा ४–५ जनाको फोन आएको भन्दै, पत्रकार सम्मेलन गरेमा ज्यान मार्ने धम्की आएकाले बाध्य भएर पत्रकार सम्मेलन गरेको उल्लेख गरे । 
 
‘अब छोराले त्यो स्कुलमा पढ्न जाँदैन भन्छ, छोराले कक्षा १० मा अहिले अध्ययन गर्दैछ । स्कुलका कारणले मेरो छोराको पढाई बिग्रिने भयो । अब यसको जिम्मेवारी कसले लिने ? ज्यान मार्ने धम्की दिने जस्ता कार्यको बारेमा सम्बन्धित निकायले पक्कै पनि ध्यान दिनेछ भन्नेमा हामी विश्वस्त छौं’ उनले भने ।

रायमाझीले ‘ज्यान मार्ने धम्की नआएको भए, स्कुलले कुटपिट गर्ने शिक्षकलाई कारबाही गरेको भए हामीले पत्रकार सम्मेलन गर्ने थिएनौं’ भने । उनले अगाडि भने, हाम्रो माग भनेको शिक्षकमाथि कारबाही होस भन्ने हो अरु केही छैन ।’

विद्यालयका प्राचार्य न्यौपानेले विद्यार्थी र शिक्षकमाथि तानाशाह शैली चलाउँदै आएको धेरै तथ्यहरु बाहिर आउन नसकेको जनाए । कार्यक्रममा नेपाल अभिभावक संघका जिल्ला अध्यक्ष लोकनाथ ज्ञवालीले ३० वर्ष अगाडिको जस्तै घोकन्ते, रटन्ते शैली विद्यालयमा चलाउन नपाइने बताए । 

उनले दीप बोडिङ्गले विद्यार्थीमाथि गरेको दुव्र्यहार निन्दनीय भएको बताए । स्कुल मुस्कान संस्कार सहितको अध्यापन दिने ठाउँ हो । दण्ड दिने नियम कहिकतै नभएकाले उक्त कार्य ठीक नभएको जिकिर गरे । 

संघका अध्यक्ष ज्ञवालीले भने, बरु विद्यार्थीले गल्ती गरेमा एकपटक अभिभावकलाई सचेत गराएमा विद्यार्थीका अनैतिक बानी व्यवहार सुधार्न सकिने सुझाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ