arrow

सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउन बैङ्कहरूसँग छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
bankharus.jpg

काठमाडौं ।  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउन बैङ्क तथा वित्तसंस्थासंग काठमाडौंमा छलफल तथा अन्तरक्रिया गरेको छ । 

सामाजिक सुरक्षा भत्ताका लागि छुट्ट्याएको धेरै रकम बैङ्कमै थन्किएकाले त्यसलाई प्रभावकारी रूपमा वितरण गर्न तथा समसामयिक सवालहरूमा छलफलका लागि कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले जानकारी दिए । 

सेवाग्राहीहरूले समयमा नै भत्ता रकम नपाएको, अशक्त, अति वृद्धवृद्धाहरुले धेरै सास्ती खेप्नुपरेको गुनासो बढिरहेको बेला विभागले बैङ्कहरूसँग छलफल गरी भत्ता वितरणमा अन्तर बैङ्क एकरूपता कायम गरी सहजता ल्याउन खोजेको हो । भत्ता वितरणलाई प्रभावकारी बनाउन सेवाग्राहीलाई एटिएम दिनुपर्ने, चेक बुकको सङ्ख्या बढाउनुपर्ने, बैङ्कले सेवाग्राहीको खातामा ७ दिन भित्र पैसा जम्मा गर्दिनुपर्ने प्रस्ताव विभागले राखेको छ । 

त्यस्तै अशक्त तथा ९० वर्ष भन्दा माथिका व्यक्तिलाई स्थानीय तह र बैङ्कको सहमतिमा भुक्तानी शिविर, शाखा रहित बैङ्क, मोबाइल बैंकिङ्ग, सहकारी मार्फत भुक्तानी जस्ता विशेष व्यवस्था गरी भुक्तानी दिँदा सहज र प्रभावकारी हुने पनि विभागको धारणा छ । बालबालिका वा पूर्ण असक्त, अपाङ्गता भएका व्यक्तिको संरक्षक सहितको संयुक्त खाता वा संरक्षक मार्फत भत्ता भुक्तानी गर्ने व्यवस्था गर्दा भत्ता वितरणलाई सहज बनाउन सकिने पनि छलफलमा उठेको थियो । 

सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत प्रभावकारी रूपमा वितरणका लागि सबै स्थानीय तहबाट तदारुकता देखाइरहेका बेला केही  स्थानीय जनप्रतिनिधीहरुले लोकप्रियताका लागि घरघरमै भत्ता वितरण गर्न चासो देखाएका तर स्थानीय तहमा न्यून जनशक्तिका कारण काम गर्न कठिन भइरहेको गुनासो बैङ्कको छ । सामाजिक सुरक्षाको लागि खोलिएको बैङ्क खातामा भत्ता रकम मात्र जम्मा गर्दा प्रतिवेदन प्रणाली प्रभावकारी हुने भएकाले विभागले यो विषयलाई पनि सम्बोधन गर्नुपर्ने कुरा छलफलमा उठेका छन् ।  

छलफल कार्यक्रममा गृह मन्त्रालयका सह सचिव भीष्मकुमार भुसालले भत्ता वितरणलाई बैङ्कहरूले बोझको रूपमा मात्र नभई अवसरको रूपमा लिन आग्रह गरे । 

सामाजिक सुरक्षा वितरणकै क्रममा धेरै बैङ्कहरूले दुर्गम स्थानमा पुग्न पाएको, बचतकर्तालाई बैङ्कले लगानीका लागि सेवाग्राही बढाउन मद्दत गर्ने तथा बैङ्कको महत्त्वका बारेमा ग्रामीण भेगलाई जानकारी दिन पाएको कारण यसले बैङ्कलाई पनि प्रत्यक्ष रूपमा फाइदा पुर्‍याइरहेको कुरामा पनि उनले जोड दिए । 

छलफलकै क्रममा विभागका निर्देशक सागरमणि पाठकले बैङ्कहरूले भत्ता वितरणप्रति देखाएको अपनत्वलाई सामाजिक दायित्व वहनको रूपमा लिन सकिने प्रस्ट्याए । बैंकिङ्ग सिस्टममा देखिएका केही त्रुटिलाई शुद्धीकरणको आवश्यकतामा विभागका महानिर्देशक भट्टराईको जोड थियो । 

साथै पूर्ण बैंकिङ्ग प्रणाली कार्यान्वयनसँगै एकरूपता हुने गरी सामाजिक सुरक्षा नियमावली तथा कार्यविधि संशोधन प्रक्रिया अगाडि बढाउनेमा पनि उनले जोड दिएका छन्।  कार्यक्रममा राष्ट्रिय स्तरका क, ख र ग वर्गका ५४ वटा बैङ्कका प्रतिनिधिहरू सामेल थिए ।
 



नयाँ