arrow

दशैंसम्म व्यवसाय गर्न दिन फुटपाथ व्यवसायीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
Footpath-business1-.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दशैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् ।

काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी भने दशैं मुखमा आएको भन्दै दशैंसम्म व्यवसाय गर्न दिन नगरपालिकालाई आग्रह गरेका हुन् ।

काठमाडौंको माछापोखरी सडकको किनारामा विगत ३० वर्षदेखि कपडा बेच्दै आउनुभएका नुवाकोटका बलराम भेटवालले दशैंको समयमा काम गर्न दिन आग्रह गर्नुभयो । “हामी महानगरपालिकालाई सहयोग गर्न तयार छौँ, हामीले किनेर ल्याएको कपडा दशैं अगाडिसम्म बिक्री गर्न दिइयोस्”, उनी भन्छन् ।

भक्तपुरका भरत बस्नेत विगत ३३ वर्षदेखि माछापोखरीमा लत्ताकपडा बिक्री गर्दै आएका छन् । “हामी बिहान दुई घण्टा र बेलुका दुई घण्टा कपडा बेच्दै आएका छौँ, दशैं मुखमा आएको छ, दशैंको मुखमा हाम्रो रोजिरोटी नखोसियोस्”, बस्नेत भन्छन् ।

धादिङकी यशोधा सुवेदी पनि लामो समयदेखि सोही स्थानमा व्यवसाय गर्दै आउनुभएको छ । “प्रयोगमा नआएको जग्गामा बिहान बेलुका व्यापार गर्दै आए पनि नगरपालिकाले हटाउन खोजेर हामीलाई समस्या पारिदियो”, उनी भन्छन् ।

भेटवाल, बस्नेत र सुवेदी प्रतिनिधि पात्र मात्र हुन् । अहिले काठमाडौं महानगरपालिकाले माछापोखरी क्षेत्रमा फुटपाथ व्यवसाय हटाउँदा ६० व्यवसायी मारमा परेका छन् । बिहान र बेलुकाको समयमा व्यापार गर्दै आएका उनीहरुसँग हालै रु ४० लाख मूल्य बराबरको सामान छ । दशैंको समयमा सामान बिक्री गर्न नदिँदा उक्त मूल्य बराबरको सामान थन्किने डर व्यवसायीमा रहेको छ ।

माछापोखरी क्षेत्र मात्र नभएर काठमाडौंको मुख्य क्षेत्र न्यूरोड, कोटेश्वर, कलङ्की, चाबहिल, नयाँ बसपार्क क्षेत्रमा रातका समयमा फुटपाथमा सामान राखेर बिक्री वितरण हुँदै आएको छ । उनीहरुले भने व्यापार व्यवसाय गरेबापत हाल कसैलाई पनि कर तथा भाडा तिर्दैनन् ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे अनाधिकृत संरचना र फुटपाथ व्यवसाय हटाउने नीति महानगरपालिकाले लिएको बताउनुहुन्छ । “महानगरपालिकाले लिएको नीति पालना गर्ने दायित्व नगर प्रहरीको हो, जनप्रतिनिधिको आदेशअनुसार नगर प्रहरीले अनधिकृतरुपमा बनाएका संरचना र फुटपाथ व्यापार हटाउन लागेको हो”, उनी भन्छन् ।

उनले महानगरले लिएको नीतिलाई सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन् । पछिल्लो समय काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना र नक्सा पास नगरी बनाएका भवन तथा फुटपाथ व्यवसायीमाथि निगरानी बढाएको छ ।

काठमाडौं महानगरपालिकाले हालसम्म न्यूरोड, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, नयाँ बसपार्क, वनस्थलीलगायत काठमाडौंभित्रका विभिन्न क्षेत्रमा नक्साविपरीत अनाधिकृतरुपमा बनाइएका संरचना हटाइसकेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ