- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चार जना पूर्वप्रधानन्यायाधीशहरूले आफूहरूमाथि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले लगाएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
प्रधानन्यायाधीशहरू मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले बिहीबार प्रतिनिधि सभा महाअभियोग सिफारिस समितिलाई पत्र लेख्दै अमूक व्यक्तिले अमूक विषयमा आधारहीन लाञ्छना लगाएको र त्यसमा आफूहरूले बयान दिनुपर्ने कुनै कारण नदेखिएकाले समितिमा सशरीर उपस्थित हुन नसक्ने उल्लेख गर्दै जबरालाई आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।
उनीहरूले जुन विषयमा जे उद्देश्यका लागि समिति गठन गरिएको हो त्यसलाई त्यो काम मात्र गर्ने जिम्मेवारी तोकिएको भन्दै निलम्बनमा रहेका जबराविरुद्ध महाभियोग प्रस्ताव पेस भई महाभियोग सिफारिस समितिमा छानबिन भइरहेको शिलशिलामा उनले बयानको क्रममा आफूहरू समेतको नाम उल्लेख गरेको भन्दै ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
‘उक्त पत्रमा हाम्रो बारेमा के कस्तो तथ्य उल्लेख गरी बयान गरेको भन्ने नखुलेकोले के विषयमा छलफल गर्ने भन्ने प्रष्ट हुन सकेन। जसको बारेमा नेपालको संविधानको धारा १०१ को उपधारा ९३० र ९४० बमोजिम महाभियुक्त बनाई कारबाही शुरु गरिएको हो, तिनैको विषयमा केन्द्रीत भई सिफारिस समितिले छानविन अगाडि बढाउनुपर्ने भन्ने कुरामा विवाद छैन। महाभियुक्तले कसैउपर दाबी वा अभियोग लगाउन नसक्ने हुँदा निजले आफ्नो बारेमा लगाएको आरोप सम्बन्धमा कानूनबमोजिम आफ्नो प्रतिवाद गर्नमा केन्द्रीत हुनुपर्ने हुन्,’ पत्रमा भनिएको छ, ‘सिफारिश समितिले पनि आफूलाई सुम्पिएको विषयमा बाहेक अन्य कसैउपर दाबी, छलफल गर्न वा सुम्पिएको विवादभन्दा बढी विस्तार गरी क्षेत्राधिकार विस्तार गर्न सक्ने देखिँदैन। जुन विषयमा सिफारिशको लागि आफू गठन भएको हो, त्यसैको सीमाभित्र रहेर कानूनबमोजिम तथ्यको खोजविन गर्नु महाअभियोग सिफारिश समिति जवाफदेही हुने हुँदा सो बाहेक अन्य कुनै रुपले पनि विवादित विषयवस्तुको विस्तार गर्न र त्यसको निरुपण गर्न कोशिस गर्न नमिल्ने कुरा स्मरणीय छ।’
चार पूर्व प्रधानन्यायाधीशहरूले महाभियुक्तले आफूहरूमध्ये कसले, कहिले, कुन अमुक विषयमा महाभियुक्तलाई प्रभावित गर्न प्रयास गरेको हो, त्यस्तो सम्पर्क व्यक्तिगत वा के तहबाट भएको हो ? त्यो कहिले र कसरी भएको हो ? त्यसको यथार्थता पुष्टि हुने प्रमाण के हो ? त्यस्तो अमुक विषयमा के कस्तो नतिजा निक्लन गएको छ ? निजले आरोपित गरेको अमुक कुरा गर्ने व्यक्ति, विषय, समय सन्दर्भ र अभिलेख केही पनि सिफारिश समितिले मागेको र सोबमोजिमको सबुत प्रमाण निजले दिएको भन्ने कतै पनि देखिन नआएको हुँदा कसैउपर पनि झूट्टा, भ्रामक, कपोलकल्पित, गोश्वारा, बेप्रमाणित, अप्रासंगिक र अमूर्त ढंगले आरोप लगाउँदैमा पुग्दैन।आरोप लगाउनेले बुझ्न सक्ने गरी अमुक व्यक्तिले अमुक विषयमा अमुक समयमा अमुक कुरा अनुचित ढंगले हासिल गर्न खोजेको वा हासिल गरेको भन्ने कुरा शंकारहित तवरले सिद्ध गर्नुपर्ने हुन्छ।’
उनीहरूले जबरालाई कुनै प्रत्यक्ष भेट वा अन्य माध्यमबाटसमेत प्रभावित गरेको वा गर्न उद्देश्य राखेको कुनै पनि तथ्य भए प्रमाणित गर्न खुलेआम चुनौती दिएका छन् ।