काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आजदेखि काममा फर्कदै छन् । उनको लेजर थेरापीबाट शल्यक्रिया गरिएको थियो । केही दिनदेखि उनी आरामरत थिए ।
उनी गत भदौ २५ गतदेखि सबैसँग टाढा रहेर आरामरत थिए । उनी आजै पार्टी कार्यालय गएर कामको थालनी गर्नेछन् ।
महामन्त्री शर्मालाई नेपाली कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभाको घोषणापत्र बनाउने जिम्मा पार्टीले दिएको छ । उनले आजै घोषणापत्र समितिलाई पूर्णता दिने उनी निकट स्रोतले बताएको छ ।
उनले समितिमा अधिकांश सहमहामन्त्रीहरुका साथै केन्द्रीय सदस्यहरुलाई थप्ने स्रोतले बताएको छ । करिब ३० जनाको हाराहारीमा घोषणापत्र समिति बनाउने बुझिएको छ ।
उनले यसअघि स्थानीय तहको निर्वाचनको घोषणापत्र बनाउने जिम्मा पाएका महामन्त्री गगनकुमार थापाले समेटेका केही सदस्यहरुलाई यसपटकको प्रदेश सभा र संघीय निर्वाचनका लागि घोषणापत्र बनाउने समितिमा समेट्दै छन् ।