arrow

नैतिकताको कसीमा गगन–विश्व

logo
प्रकाश पोख्रेल, 
प्रकाशित २०८२ फागुन २४ आइतबार
prakash-pokhrel-82-11-24.jpeg

प्रतिनिधि सभाको गत फागुन २१ गते भएको निर्वाचनको परिणामले नेपाली राजनीतिमा नयाँ बहस जन्माएको छ। विशेषगरी ठूला दलहरूप्रति मतदातामा बढ्दै गएको असन्तुष्टि र त्यसको अभिव्यक्तिका रूपमा देखिएको परिणामले राजनीतिक दलहरूलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको छ। यस सन्दर्भमा नेपाली कांग्रेसभित्र पनि नेतृत्व, नैतिकता र उत्तरदायित्वका विषयहरू पुनः चर्चाको केन्द्रमा आएका छन्। 

चुनावी परिणाम अपेक्षाअनुसार नआएपछि विशेष महाधिवेशनको जगमा उभिएका कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माको भूमिकालाई लिएर विभिन्न कोणबाट बहस शुरू भएको छ। कतिपयले नैतिक जिम्मेवारीका आधारमा नेतृत्वले पद त्याग गर्नुपर्छ भन्ने धारणा व्यक्त गरिरहेका छन् भने अर्को ठूलो पंक्तिले यस्तो अवस्थामा नेतृत्व विचलित हुनु भन्दा परिस्थिति बुझेर पार्टीलाई सही दिशामा अघि बढाउनु नै उचित हुने तर्क प्रस्तुत गरिरहेको पाइन्छ।

वास्तवमा अहिलेको चुनावी परिणामलाई सामान्य रूपमा मात्र बुझ्न सकिँदैन। यो परिणाम देशका ठूला राजनीतिक दलहरूप्रति जनतामा बढ्दै गएको आक्रोश, निराशा र परिवर्तनको चाहनाको अभिव्यक्ति हो भन्ने कुरामा कुनै सन्देह छैन । लामो समयदेखि देशको राजनीतिक नेतृत्व सम्हाल्दै आएका दलहरूबाट जनताले अपेक्षा गरेका धेरै कुरा पूरा हुन सकेका छैनन् भन्ने धारणा समाजका विभिन्न वर्गमा बढ्दै गएको देखिन्छ। यही असन्तुष्टि चुनावी परिणाममा पनि परावर्तित भएर आयो। तर यसको अर्थ ठूला दलहरूको राजनीतिक आधार पूर्ण रूपमा समाप्त भइसकेको छ भन्ने होइन। बरु यसलाई चेतावनीका रूपमा लिएर सुधारको मार्गमा अघि बढ्नु अहिलेको आवश्यकता हो।

नेपाली कांग्रेसको  भविष्यका लागि  अहिलेको  चुनावी परिणाम अवसर पनि हुन सक्छ यदि आत्मसमीक्षा गरेर अगाडि बढ्यो भने ।  त्यसैले यसलाई अत्यधिक निराशा वा भयको दृष्टिले हेर्नु आवश्यक छैन। कांग्रेस अझै पनि देशको सबैभन्दा ठूलो र ऐतिहासिक राजनीतिक शक्तिमध्ये एक हो । यसको संगठनात्मक संरचना, वैचारिक आधार र लोकतान्त्रिक आन्दोलनसँग जोडिएको इतिहासले यसलाई अझै पनि बलियो राजनीतिक शक्ति बनाइराखेको छ। त्यसैले अहिलेको परिणामका कारण कांग्रेसको नेतृत्व विचलित भइहाल्नु पर्ने अवस्था देखिँदैन। बरु यसलाई सुधार र पुनर्गठनको अवसरका रूपमा लिन सकिन्छ ।

यही सन्दर्भमा गगन–विश्वको भूमिका विशेष महत्वको विषय बनेको छ। कांग्रेसभित्र युवापुस्ताको प्रतिनिधित्व गर्दै आएका यी दुई नेताहरूलाई लामो समयदेखि सुधारवादी सोचका प्रतीकका रूपमा हेरिँदै आएको छ। पार्टीभित्र पारदर्शिता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर्संरचनाको आवश्यकता औंल्याउँदै आएका गगन–विश्व अहिले आफैं नैतिकताको कसीमा उभिएका छन्। चुनावी परिणामपछि उनीहरूले कस्तो निर्णय लिन्छन् भन्ने कुराले कांग्रेसभित्रको भावी राजनीतिक दिशा निर्धारण गर्न सक्छ।

लोकतान्त्रिक व्यवस्थामा नेतृत्वले सफलतामा मात्र होइन, असफलतामा पनि जिम्मेवारी लिनु पर्ने संस्कार अत्यन्त महत्वपूर्ण मानिन्छ।  यस्तै सन्दर्भमा गगन–विश्वले चाल्ने कदमलाई केवल व्यक्तिगत निर्णयका रूपमा मात्र नभई व्यापक राजनीतिक सन्देशका रूपमा पनि हेरिनेछ।

चुनावी परिणाम केवल पार्टीभित्रको संगठनात्मक कमजोरी होइन भन्ने वास्तविक तथ्य आम जनतामा सिञ्चित गर्न जरुरी देखिन्छ । विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको मनोवैज्ञानिक दूरी र गुटगत प्रतिस्पर्धाले चुनावी परिणाममा झिनो प्रभाव परेको भएता पनि  नेपाली कांग्रेसको संगठन कमजोर भएको छैन बरु चुनाव प्रचारको क्रममा नेपाली कांग्रेसका आम सदस्यले शिर उचो राखेर जनताको अगाडि प्रस्तुत हुने अवसर प्राप्त गरेका थिए । यो वास्तविक तथ्यलाई आत्मसात् गर्दै पार्टी भित्र एकताको वातावरण निर्माण गर्न लाग्नु आजको आवस्यकता देखिन्छ ।

गगन–विश्वलाई धेरैले कांग्रेसको भविस्यका  रूपमा हेरेका छन् । उनीहरूमा निहित ऊर्जा, स्पष्ट अभिव्यक्ति र सुधारको दृष्टिका कारण पछिल्लो समयमा नेपाली कांग्रेसको अस्तित्व जोगिएको तथ्यलाई नकार्न सकिँदैन । तर राजनीतिक यात्रामा केवल लोकप्रियता मात्र पर्याप्त हुँदैन। कठिन परिस्थितिमा लिइने निर्णयले नै नेतृत्वको वास्तविक क्षमता निर्धारण गर्छ। अहिलेको चुनावी परिणामले उनीहरूलाई त्यही परीक्षा उतारेको छ।

यदि गगन–विश्वले केवल नैतिकताको नाममा पद त्याग गर्ने निर्णय गरे भने त्यो तत्काल  सकारात्मक देखिन सक्छ। तर व्यवहारिक रूपमा त्यसले कांग्रेसभित्र नेतृत्वको रिक्तता सिर्जना गर्न सक्छ।  यस्तो अवस्थामा जिम्मेवारीबाट पछि हट्नु भन्दा अझ दृढ भएर सुधारको अभियानलाई नेतृत्व गर्नु नै साँचो नैतिकता हुन सक्छ।

अर्कोतर्फ अहिलेको चुनावी परिणामलाई सही सन्दर्भमा बुझ्नु पनि आवश्यक छ। जनताले व्यक्त गरेको असन्तुष्टि लोकतन्त्रमा स्वाभाविक प्रक्रिया हो। मतदाताले कहिलेकाहीँ राजनीतिक दलहरूलाई चेतावनी दिनका लागि पनि आफ्नो मत प्रयोग गर्छन्। यसलाई लोकतान्त्रिक सन्देशका रूपमा ग्रहण गरेर सुधारको दिशामा अघि बढ्न सके मात्र दलहरूले आफ्नो विश्वास पुनः स्थापित गर्न सक्छन्।

नेपाली कांग्रेसको इतिहास हेर्दा पनि यसले धेरै चुनौतीपूर्ण अवस्थाहरू पार गर्दै पुनः सशक्त रूपमा उदाएको उदाहरणहरू छन्। लोकतन्त्रको पुनर्स्थापना, संवैधानिक आन्दोलन र विभिन्न राजनीतिक संक्रमणकालीन चरणहरूमा कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको छ। त्यसैले अहिलेको परिणामलाई अन्तिम सत्यका रूपमा बुझ्नु उचित हुँदैन। बरु यसलाई पार्टीलाई अझ सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न सकिन्छ।

यही सन्दर्भमा गगन–विश्वले आफ्नो राजनीतिक भूमिकालाई केवल पद वा व्यक्तिगत प्रतिष्ठासँग जोडेर हेर्नु हुँदैन। उनीहरूले पार्टीभित्र व्यापक संवाद, संगठनात्मक सुधार र वैचारिक पुनर्स्थापनाको अभियान शुरू गर्न सके भने त्यो कांग्रेसका लागि नयाँ ऊर्जा बन्न सक्छ। अहिले आवश्यक भएको कुरा भावनात्मक प्रतिक्रिया होइन, गम्भीर आत्मसमीक्षा र दीर्घकालीन राजनीतिक दृष्टिकोण हो।

अन्ततः लोकतन्त्रमा नेतृत्वको मूल्यांकन केवल एक चुनावी परिणामबाट मात्र हुँदैन। समयसँगै देखिने दृष्टि, निर्णय क्षमता र संगठन निर्माण गर्ने क्षमता नै नेतृत्वको वास्तविक पहिचान हो। गगन–विश्व अहिले त्यही कसीमा उभिएका छन् । उनीहरूले यदि अहिलेको चुनौतीलाई अवसरका रूपमा रूपान्तरण गर्न सके भने कांग्रेसको भविष्यलाई नयाँ दिशा दिन सक्छन्।

आजको परिस्थितिमा नेपाली कांग्रेसलाई विचलित नेतृत्व होइन, संयमित, आत्मविश्वासी र सुधारमुखी नेतृत्व आवश्यक छ। 

गगन–विश्वले यही भूमिका निर्वाह गर्न सके भने अहिले उठेका नैतिकताको प्रश्नहरू नै उनीहरूको राजनीतिक परिपक्वताको प्रमाण बन्न सक्छन्। लोकतन्त्रमा हार–जित अस्थायी हुन्छ, तर मूल्य, विश्वास र राजनीतिक प्रतिबद्धता स्थायी हुन्छन् । गगन–विश्वले यही सत्यलाई आत्मसात गर्दै पार्टी र देशको भविष्यका लागि सही मार्ग रोज्ने अपेक्षा गरिएको छ। (लेखक पोख्रेल राजनीतिक  विश्लेषक हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ