arrow

नवौं राष्ट्रिय खेलकुदः पहिलो स्वर्ण पुलिसलाई, क्रिकेटको उपाधि जित्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १ शनिबार
9th-national-games-cricket-final-police.jpg

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्णपदक नेपाल पुलिस क्लबले प्राप्त गरेको छ । राष्ट्रिय खेलकुदअन्तर्गत भएको ३४औँ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्णमा आफ्नो नाम लेखाउन सफल भएको हो ।

वर्षाका कारण ८ ओभरमा छोट्याइएको प्रतियोगितामा सेनाले दिएको १०४ रनको लक्ष्य पुलिसले २ विकेटको क्षतिमा ७ बल बाँकी छँदै भेट्यायो । पुलिसले ६.५ ओभरमा १०५ रन जोड्न सफल भयो । 

पुलिसका लागि प्लेयर अफ द फाइनल कुशल भुर्तेलले ३ चौका र ६ छक्काको मद्धतले १९ बलमा ५१ रन जोडे । उनी जितेन्द्र मुखियाको एलबीडब्लू धरापमा परेर आउट भए ।

यस्तै, सुनिल धमलाले १७ बलमा ४२ रनल जोडे । ४२ रन बनाउने क्रममा २ चौका र ४ छक्का प्रहार गरे । यसैगरी दिपेन्द्र सिंह एैरीले ४ बलमा ४ रन र आरिफ सेख १ बलमा ६ रनका साथ नटआउट रहे । सेनाका जितेन्द्र मुखिया र सुसन भारीले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको सेनाले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा १०३ रन जोडेको थियो । विनोद भण्डारीले १४ बलमा ४० रन, रोहित पौडेलले १० बलमा २८ रन, कुशल मल्लले १३ बलमा १३ रन र भिम सार्कीले ४ बलमा ११ रन जोडे । 

पुलिसका गुलशन झाले २, ललित राजबंशीले २, रशिद खान र दिपेन्द्र सिंह ऐरीले १, १ विकेट लिए । उपविजेता सेनाले रजत पदक प्राप्त गर्‍यो । 

तेश्रो स्थानका लागि सुदूरपश्चिम र एनआरएनए बीचको खेल वर्षाका करण हुन नसकेपछि टसबाट निर्णय गरिएको थियो । जसमा सुदूरपश्चिमले जित हात पार्दै कास्य पदक प्राप्त गर्न सफल भयो । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वाला लगायतले पुरस्कार वितरण गरेका थिए ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडि नै आयोजना भएको हो ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय तथा एनआरएन गरी ११ टोलीको सहभागीता रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ