arrow

केपी ओलीलाई मधेसमा धक्का, नागरिकता विधेयकको पक्षमा नउभिएपछि गंगारामले गरे विद्रोह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
gangaram-yadav-uml-jasapa.jpg

काठमाडौं । शुक्रबार रेलको टिकट हल्लाउँदै जनकपुरमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मधेसमै गम्भीर राजनीतिक धक्का लागेको छ । शुक्रबार मात्रै एमालेमा प्रवेश गरेका उमाशंकर अगरियाका विरुद्ध एमालेकै नेता गंगाराम यादवले विद्रोह गरेका छन् । 

उनी जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्ने भएका हुन् । यादव धनुषा क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवारी दिने तयारीमा थिए । तर उमाशंकर अगरिया पार्टीमा आएपछि उनी जसपा जाने भएका छन् । उनले एमाले परित्याग नै गरेका छन् । 

क्षेत्रबाट चुनाव लड्न लोसपा प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अगरियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भित्राएका थिए । सोही कारण रुष्ट यादव एमाले त्यागेर जसपा जान लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र एमाले प्रमाणीकरण गर्नुपर्ने पक्षमा नउभिएकोमा आपत्ति रहेकाले पार्टी त्यागेको उनले सञ्चारकर्मीहरुलाई जनाएका छन् ।  

एमाले अध्यक्ष ओली जनकपुरधाम आउँदा यादवले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । यसअघि अध्यक्ष यादवले बलराम महतोलाई पनि टिकटकै लोभ दिएर पार्टी प्रवेश गराएका थिए । महतो जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रबाट चुनाव लडेका थिए । निर्माण व्यवसायी महतो मेयरमा पराजित भएलगत्तै  एमालेमा ल्याएका हुन । तर उनी भने एमाले छाडेर जसपामा जाने तयारी गरेका छन् । 

संसद्ले दोहोर्याएर पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरिदिएपनि एमाले अध्यक्ष ओलीले आफ्नो ध्यान मधेशमा लगाइरहेका छन् । तर केही नेताहरु असन्तुष्ट हुँदै पार्टी छाड्ने तयारी गर्दा एमालेका लागि फाइदा भन्दा घाटा हुन् अवस्था देखिएको छ ।

नागरिकता विधेयक पास नहुनमा अध्यक्ष ओलीलाई दोषी करार गर्ने मधेसमा अभियान चलिरहेको अवस्थामा एमालेबाट बाहिरिन खोजेका यादव पनि त्यही मेसोमा मिसिने देखिएका छन् । 

तर पनि दोषी देखाउने अभियानलाई पाखा लगाउँदै केपी ओली मधेसका गाउँगाउँ पुगेर मधेस केन्द्रित दलकै नेतालाई आफ्नो पार्टीमा भित्र्याउँदै गरेको दृश्यले मधेस राजनीतिलाई रोमाञ्चित बनारहेको भए पनि यादव प्रकरणले ओलीलाई धक्का लागेको मधेसवादी राजनीतिक विश्लेषकहरु बताउँछन् । 

शनिबार हवाई मार्गबाट मधेस प्रदेशको राजधानी जनकपुरधाम आई विमानस्थलबाट बाहिरिने क्रममा केही युवाले ओलीलाई कालो झण्डा देखाएका थिए । तर उनी रेल्वे स्टेसन पुगेर रेल चढ्दा सर्वसाधारणको भीड उर्लिएको थियो । 

भीड देखेर उत्साहित ओली रेलको झ्यालबाट लिकको छेउँछाउँ उभिएकालाई हात हल्लाउँदै अगाडि बढेका थिए । जनकपुरमा रेल चढेर मैनाधपुर स्टेसनमा ओर्लिएर अध्यक्ष ओली त्यहाँबाट गाडीमै कार्यक्रम स्थलमा पुगेका थिए । कार्यक्रम स्थलमा पुग्नुअघि अध्यक्ष ओलीले जेल जीवनमा सँगै बसेका धनुषा शहीदनगर नगरपालिका–६ हरबाराका मुर्बल भनिने रामनारायण मण्डलको घरमा पुगेर चिया पनि पिएका थिए । 

मुर्बलको निधन भइसकेको छ । मुर्बलका छोरा अपराजित मण्डल स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीको टिकटमा सो वडाका वडाध्यक्षमा चुनाव लडेर पराजित भएका थिए । ओलीले उनलाई पनि पार्टीमा सक्रिय हुन आग्रह गर्दै मण्डललाई फूलमाला लगाई पार्टीमा प्रवेश गराएका थिए । 

निर्वाचनको मुखमा ओलीको यो पहिलो मधेस यात्रा भने होइन । तर ओलीका लागि उत्साहजनक यात्रा भने ०७२ पछिको पहिलो हो । ०७२ को संविधान जारी भएपछि मधेसमा बलिदानीपूर्ण आन्दोलन चलिरहेको थियो । 

मधेस आन्दोलित रहेको बेला फागुन २३ गते सप्तरीको मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको एमालेको मेची–महाकाली यात्रा कार्यक्रमको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले चलाएको गोली लागी मलेठका पाँच जना सर्वसाधारणले ज्यान गुमाएपछि आन्दोलनले उग्र रूप लिएको थियो । 

एमालेले यस घटनापछि मेची–महाकाली यात्रा केही दिनका लागि स्थगित गरेको थियो । ०७२ असोज १४ मा हुलाकी राजमार्गभरि बाँधिएको मानवसाङ्लोलाई ओलीले ‘माखेसाङ्लो’ भनी कटाक्ष गरेका थिए । 

मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोलीबाट आन्दोलनकारी मारिँदा ‘बोटबाट २–३ वटा आँप झर्दैमा केही हुन्न’ भन्ने ओलीको भनाइले मधेसको मनमा गहिरो घाउ बनाएको थियो ।  

त्यसपछि एमाले र खासगरी ओलीसित मधेस झन् बिच्कियो । त्यसयता ओली भित्री मधेस छिर्न सकेका थिएनन् । अहिले भने ओली आफैं मधेसमा दौडधुप गरिरहेका छन् । ओलीले मधेशबाट यसपटक डबल डिजिटको आँकडा निकालिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ