arrow
ADVERTISEMENT

युक्रेनी क्षेत्र गाभेको निन्दा गर्ने राष्ट्र संघको प्रस्तावमा रुसको भिटो, चीन र भारत तटस्थ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १५ शनिबार
russia-vetos-un-resolution (1).jpg

काठमाडौं । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा युक्रेनका चार क्षेत्रहरु रुसमा गाभ्ने क्रेमलिनको निर्णयको निन्दा गर्ने प्रस्तावमा रुसले भिटो लगाएको छ । रुसका निकट सहयोगी चीन र भारतसमेत यो प्रस्तावमा मत गर्नुको सट्टा तटस्थ बसेका छन् ।

संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले शुक्रबार सुरक्षा परिषद्को बैठकमा यो प्रस्ताव पेश गरेकी थिइन् । जसमा सदस्य राष्ट्रहरूलाई युक्रेनको कुनै पनि परिवर्तन गरिएको स्थितिलाई मान्यता नदिन र रुसलाई आफ्ना सेना फिर्ता गर्न बाध्य पार्न आग्रह गरिएको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनको १५ प्रतिशत भूभाग समेट्ने चार क्षेत्रहरु रुसमा गाभेर घोषणा गरेका थिए। यो दोस्रो विश्वयुद्धपछि युरोपमा भएको सबैभन्दा ठूलो विलय हो ।

संयुक्त राज्य अमेरिका र अल्बानियाद्वारा सह प्रायोजित प्रस्तावमा युक्रेनको सीमानामा भएको कुनै पनि परिवर्तनको मान्यताको लागि आयोजित अवैध जनमत संग्रहको निन्दा गर्न आह्वान गरिएको थियो ।

प्रस्तावमा रूसलाई युक्रेनबाट तुरुन्तै सेना फिर्ता गर्न र २४ फेब्रुअरीमा शुरु गरेको आक्रमण अन्त्य गर्न आह्वान गरिएको छ । यो प्रस्तावको पक्षमा १० राष्ट्रले मतदान गरेका छन् भने चीन, ग्याबोन, भारत र ब्राजिलले मतदान गरेका छैनन् । 'एउटा पनि देशले रुसको पक्षमा मतदान गरेनन्,' थोमस ग्रीनफिल्डले बैठक पछि पत्रकारहरूसँग बोल्दै भनिन् ।

संयुक्त राष्ट्रका लागि रुसी राजदूत भासिली नेबेन्जियाले प्रस्तावको विरुद्धमा मत हालेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ