arrow

भूमरीमा कांग्रेस

‘देउवा पक्षका बाइसे र चौबीसेहरु शेखरलाई गलाउने नीतिमा छन्’

सहमतिका लागि साँझ ५ बजेसम्मको अल्टिमेटम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १५ शनिबार
deuba-shekhar.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपालको सबैभन्दा पुरानो र प्रजातन्त्र प्राप्तिदेखिका हरेक राजनीतिक परिवर्तनको नेतृत्वकर्ता पार्टी नेपाली कांग्रेस यतिबेला निकै नै गम्भीर मोडमा आइपुगेको छ । नेतृत्वले आगामी निर्वाचनका लागि कांग्रेसको संस्थापन इतर डा. शेखर कोइराला पक्षलाई संस्थापनले बेवास्ता गरेर एकलौटी ढङ्गले अगाडि बढेसँगै स्थिति गम्भीर मोडमा पुगेको हो । 

पार्टीको संघ र प्रदेशको समानुपातिकमा आफ्नो पक्षका निकै नै न्यून उम्मेदवार बनाएपछि कोइराला पक्षले गम्भीर आन्दोलन थालेको हो । यो आन्दोलनले सकेसम्म खवरदारी गरेर नेतृत्वलाई सहमतिमा ल्याएर अगाडि बढ्ने र यदि नेतृत्व सहमतिमा नआइ आफूहरुलाई बेवास्ता गर्दै अगाडि बढ्ने हो भने आगामी निर्वाचन बहिस्कार गरेर पार्टीमा विद्रोह गर्नेसम्मको स्थितिमा पुग्ने कोइराला पक्षले बताएको छ । 

कोइराला पक्षले अहिलेसम्म खवरदारी सभा, धर्ना, विभिन्न छलफल चलाइसकेको छ । तर अहिलेसम्मका गतिविधि हेर्दा नेतृत्व पेलेर अगाडि बढ्ने नीतिमा अगाडि बढिरहेको पाइएको छ । 

कोइराला पक्षले गत बिहीबार चियापान कार्यक्रमको आयोजना गरेर आफ्नो असन्तुष्टि देखाएको छ । उक्त चियापानमा डा. शेखर कोइरालासँगै कांग्रेसका पदाधिकारी एवं केन्द्रीय सदस्यहरु, चुनावका लागि उम्मेदवारका आकांक्षी लगायत सयौंको संख्यामा भेला भएका थिए । 

कोइराला पक्षले पार्टीको ४० प्रतिशत हिस्सा दिनुपर्ने माग गरेको छ । समानुपातिकदेखि उम्मेदवार सिट दिने कुरामा न्याय हुनुपर्ने माग राखिरहेको छ ।  

पार्टी सभापति शेरबहादुर देउवा पक्षले पेलेर जाने अवस्थालाई मूल्याङ्कन गर्दैै कोइराला पक्षले अन्तरपार्टी छलफल पनि चलाइरहेको छ । 

कोइराला पक्षले शनिबार साँझ ५ बजेसम्मको समय दिएको छ । कोइराला पक्षका एक नेताका अनुसार देउवा कोइराला पक्षका माग सम्बोधन गर्न तयारजस्तै देखिएका छन् । तर उनी निकटका नेताहरु भने राजी देखिएका छैनन् । 

उनले भने, ‘देउवाले हुन्छ भने पनि कार्यान्वयन गर्ने टिम ठूलो भएकाले भित्रका मान्छेहरुले गलाउने, फकाउने नीति अबलम्बन गरिरहेका छन् । हुन्छ भन्ने तर अन्तिमसम्म केही पनि भाग नदिने नीतिमा पुगेको पाइएको छ । यस्तै भए विद्रोह हुन्छ ।’

उनले थप भने, ‘सभापतिज्यू सहमतिमा अगाडि जान तयार भएकोजस्तो देखिनु भएको छ, तर उहाँको समूहभित्र बाइसे र चौबीसे राजाहरु देखिएका छन् । राजाहरुले हामीलाई निमुखा जनता ठानेर हेप्ने नीति लिइरहेका छन् ।’

समय घर्किदै गएको भए पनि देउवा पक्ष लचिलो भइरहेको छैन । कोइराला पक्षले समानुपातिकमा ३० देखि ३५ प्रतिशत भए पनि पुग्ने भनी लचिलो बनिरहेको छ । तर देउवा पक्षले त्यसलाई मानिरहेको छैन । 

समानुपातिकमा अहिले १० प्रतिशत पनि दिएको अवस्था छैन । यसलाई बढाउन देउवा राजी भएको स्थितिमा छन् । तर उनीभन्दा मुनिका पदाधिकारीहरु त्यसका लागि तयार छैनन् । 

कोइराला पक्षका एक पदाधिकारी पनि देउवा भन्दा बढी तानाशाही उनीभन्दा मुनिका पदाधिकारी भएको आरोप लगाउँछन् । 
 
त्यसो त शेखर कोइराला अझै पनि नरम देखिएका छन् । उनले मिलेरै जानुपर्ने तर देउवाले पनि पार्टीमा आफूहरुको उपस्थितिअनुसारको प्रतिशत दिनुपर्नेमा छन् । 

कोइराला पक्षका दोस्रो तहका नेताहरु भने विद्रोह नै गरेर जानुपर्नेमा छन् । यसको छनक महामन्त्री गगनकुमार थापालेसमेत दिइसकेका छन् । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले समानुपातिकको बन्दूची सहमतिमै तयार भएको भन्दै कुनै विवाद नरहेको सन्देश मिडियामार्फत दिएपछि उनले कुनै थप नहुने संकेत गरेका थिए । केही सिटमा भएको विवाद मिलाउने उनले हल्का सन्देश दिएका थिए । 

तर अधिकांश समय भने सहमतिमै सबै काम भएकाले विवाद नरहेको भन्दै बेवास्ता गरेका थिए । त्यसको जवाफमा महामन्त्री थापाले आफ्नै पार्टीभित्र विद्रोह गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए । 

त्यस्तै अर्का नेता गुरुराज घिमिरेले पनि आक्रामक प्रतिक्रिया दिएका छन् । गम्भीर प्रश्न तेर्साउँदै उनले सामाजिक संजालमा लेखेका छन्, ‘लोकतान्त्रिक मूल्यमान्यता अनुसार समाजलाई अघि बढ्न दिँदैन । अहिले हाम्रो पार्टीमा यस्तै भएको छ । यस्तो विश्वभरि नै हुन्छ । प्रतिस्पर्धीलाई उछिन्न पो नदिने हो, उभिनै नदिने ? उम्मेदवार नै बन्न नदिने पनि हुन्छ र ?’

त्यसैले त अहिले कांग्रेसभित्र देशभर विद्रोहको तयारी भइरहेको छ । साँझ ५ बजेसम्मको अल्टिमेटम दिइएको एक नेताले बताएका छन् । 

उनले घण्टौंसम्म छलफल गरे पनि देउवा पक्ष सहमतिमा पुग्न उदासिन देखिएको आरोप लगाए । उनले भने, ‘हामीलाई अहिले दश प्रतिशत पनि दिएको अवस्था छैन । ४० प्रतिशतको अल्टिमेटम दिएको भए पनि सहमतिमा अगाडि बढ्ने हो भने ३० देखि ३५ प्रतिशतसम्म भए पनि पुग्छ भनेका छौं । तर साथीहरु हामीलाई रोक्ने प्रयासमा हुनुहुन्छ । कांग्रेस छाडे हुन्थ्यो भन्नेमा हुनुहुन्छ । यसले ठूलो दुर्घटना हुने सम्भावना छ ।’
 
कोइराला पक्षले यदि समानुपातिकमा कुनै पनि सहमति नबने प्रत्यक्षमा सबै देउवा पक्षलाई नै उम्मेदवार बन्न दिने कि सबैमा बागी उम्मेदवार उठाउनेसम्मको छलफल गरिएको उनले बताए ।  

आफूहरु चुनावमा भागै नलिएपछि के हालत हुन्छ भन्ने बुझ्न पनि नेतृत्वलाई उनीहरुले सचेत गराएका छन् । 

निर्वाचन आयोगले समानुपातिकको बन्द सूची सच्याउन भनेर पत्र पठाइसकेको छ । तर कांग्रेसले कुन क्लस्टरमा कसलाई उम्मेदवार बनाउने भनेरसमेत मिलाइएको छैन । 

संघमा मात्र नभइ प्रदेशमा पनि अवस्था गम्भीर छ । संघमा भन्दा प्रदेशमा कोइराला पक्षलाई अझ दमन गरिएको छ ।  

‘कांग्रेस गम्भीर संकटमा पुगेको यसले स्पष्टै देखाउँछ’, ती सदस्यले फेरि पनि दोहोर्याउँदै भने, ‘देउवा पक्षका बाइसे र चौबीसेहरु शेखरलाई गलाउने नीतिमा छन् । हाम्रो योगदानको कुनै कदर गर्न खोजिएको छैन । प्रचण्ड र माधव नेपालले काँध थापेर कांग्रेसको बागडोर देउवाले सम्हाल्न सक्दैनन् ।’

कांग्रेससहित पाँच दलीय गठबन्धन चुनावमा पनि सँगसँगै जानका लागि सहमति गरिरहेको छ । तर स्वयं कांग्रेसभित्रको विवाद चरम स्थितिमा छ ।



नयाँ