arrow

तनहुँमा डेंगीको सङ्क्रमण बढ्यो, अस्पतालमा शय्या अभाव

logo
रासस
प्रकाशित २०७९ असोज २३ आइतबार
dengue--ji-ha.jpeg

तनहुँ । तनहुँमा डेंगीको सङ्क्रमण बढ्दै गएको छ । डेंगीका बिरामीको सङ्ख्या बढ्दै जाँदा सदरमुकामस्थित दमौली अस्पतालमा बिरामी राख्न शय्याको अभाव हुन थालेको छ । 

शनिबार मात्रै एघार जनामा डेंगी पोजेटिभ देखिएको दमौली अस्पतालले जनाएको छ । अन्य दिनको तुलनामा यो बढी हो । हालसम्म एक सयको हाराहारीमा मानिस डेंगी सङ्क्रमणबाट प्रभावित भएका छन् । उन्नाइस बिरामीको रगत प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा डेंगी पोजेटिभ भेटिएको हो । 

एक बालकसहित दश जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने एकजना आफ्नै घरमा गएको दमौली अस्पतालका सघन उपचार कक्षका अहेब राजेश क्षेत्रीले जानकारी दिए । डेंगीका बिरामी भर्ना भएसँगै अस्पतालमा अन्य रोगका बिरामीलाई भर्ना गर्न शय्याको अभाव देखिएको उनले बताए । 

अस्पतालमा उपचार आएका बिरामीमध्ये केही दिनयता दैनिक पाँच/सात जनामा डेंगी पोजेटिभ देखिन थालेको बताइएको छ । अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीमध्ये एक सयदेखि एक सय ५० जनासम्म ज्वरोका बिरामी हुने गरेका छन् । 

उच्च ज्वरो आएका, जीउ दुख्ने र बान्ता गर्ने बिरामीको पहिलो चरणको एनएस-१ परीक्षण गर्दा डेंगी भेटिएको हो । उनले भेने “आइडिजी र आइजिएम परीक्षणको लागि पोखरा पठाउनुपर्ने हुन्छ ।” उक्त आइडिजी र आइजिएम परीक्षण गर्दा डेंगीका बिरामीको अवस्था र कति दिनको भयो भन्नेबारे जानकारी पाउन सकिने उनले जानकारी दिए । 

पन्ध्र शय्या क्षमताको अस्पतालमा चालीस शय्यासम्म राखेर सेवा दिँदा पनि शय्याको अभाव हुँदा अन्य प्रकृतिका बिरामीलाई भर्ना गरी राख्न कठिनाइ भएको उनले बताए । डेंगीबाट बच्नको लागि टोल-टोलमा गएर अझै मानिसमा सचेतना फैलाउनुपर्ने अवस्था देखिएको सो अस्पतालले जनाएको छ । 

ज्वरो आएमा जथाभावी एन्टिबायटिक औषधि सेवन नगर्ने, सिटामाेल प्रयोग गर्ने, झोलिलो पदार्थ सेवन गर्ने र प्रशस्त मात्रामा पानी पिउने र आराम गर्न बिरामीलाई सुझाव सल्लाह दिइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन अभिनन्दन तिवारीले जानकारी दिए ।

आफ्नो घर वरिपरी सफा राख्ने, लामखुट्टे न्यूनीकरण गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिने लगायतका कुरामा ध्यान दिनुपर्ने उनले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ