arrow

निजी क्षेत्रसँग सहकार्य गरी नेपालमा लगानी भित्र्याउन एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
chandra-dhakal-nrna-agm-2079.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निजी क्षेत्रसँग सहकार्य गर्दै विदेशमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपाल भित्र्याउन गैर आवासीय नेपालीहरूलाई आग्रह गरेका छन्।

गैर आवासीय नेपाली सङ्घको वार्षिक साधारण सभाको अवसरमा मङ्गलवार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको र यहाँ लगानीको प्रतिफल पनि अन्य देशमा भन्दा राम्रो रहेको बताएका छन्।

“नेपालमा लगानीको वातावरण छ। पुराना र जटिल कानुनहरू परिवर्तन भएका छन्। अरू बाँकी कानुनहरू परिवर्तन हुँदै छन्। नेपालमा धेरै सम्भावना छन् । प्रतिफल पनि तपाईँले अन्य देशमा पाउने भन्दा राम्रो छ,” उनले भने।

गैर आवासीय नेपाली सङ्घले एनआरएन कोष स्थापना गरी कलेक्टिभ रूपमा नेपालमा लगानी गर्न सुरु गरेको बताउँदै यसलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन उनले आग्रह गरे।

नेपालमा आइपर्ने विभिन्न प्राकृतिक विपत्तिको समयमा गैर आवासीय नेपालीहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले गैर आवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालमा लगानी गर्न आग्रह गरे।

“तपाईँहरूले आफू रहेका स्थानमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालमा लगानी गर्नुहोस्, निजी क्षेत्र त्यसमा सहकार्य गर्न तयार छ,” वरिष्ठ उपाध्यक्ष ढकालले भने।

उक्त अवसरमा उहाँले गैर आवासीय नेपालीहरूलाई लक्षित गरी विदेशमा रहेका नेपालीहरूलाई नेपाली बैङ्कमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा सुरु भएको जानकारी गराए।

उनले विदेशी मुद्रामा खाता खोली नेपालमा देखा परेको विदेशी मुद्रा सञ्चितको समस्या समाधानमा सहयोग गर्न गैर आवासीय नेपाली सङ्घलाई आग्रहसमेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ