arrow

म्याग्दी-बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा

logo
रासस
प्रकाशित २०७९ असोज ३१ सोमबार
Pool.jpg

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं. ४ कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल सरकारको ‘सस्पेन्सनब्रिज’ डिभिजनले दुई जिल्ला जोड्ने तीन सय ८८ मिटर लामो र एक सय ७० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण शुरु गरेको हो ।

एक घण्टाको बाटो पाँच मिनेटमा छोटिने भएको छ । तीन करोड लागतमा बन्ने सो पुल निर्माणको लागि भानीहिमशिखर जेभीले १० महिनामा पुल तयार गर्ने गरी गतवर्षको असोजमा सम्झौता गरेको थियो ।

सम्झौता मितिको करिब चार महिना ढिला गरी पुल निर्माण सम्पन्न हुने भएको हो । गतअसार मसान्तभित्र काम सक्ने गरी गत वर्षको कात्तिक ४ गतेबाट पुल निर्माणको काम अगाडि बढेको थियो ।

रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार लगायतका गतिविधि गर्ने भएकाले पुलले आवत-जावतमा झन् सहज हुने अपेक्षा गरिएको बेनी नगरपालिका-१ रत्नेचौरका निवर्तमान वडाध्यक्ष टेकबहादुर रावलले बताए ।

पुल बनेपछि बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्राम सङ्ग्रहालयको अवलोकन गर्न आउने धार्मिक पर्यटकलाई सुविधा पुग्नुका साथै रत्नेचौरको खेलमैदान, धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानवनिर्मित बुढोपोखरीको प्रचार-प्रसार हुने स्थानीयवासीको भनाइ छ ।

पुलको कूललागत रु तीन करोड ५० लाख रहेको छ । पुल निर्माण गर्नका लागि बानपा-४ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्रशर्मा र पशुपति सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका हुन् । दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा ५ मिनेटमै छोटिने स्थानीयवासी युवा विष्णु कार्की क्षत्रीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ