arrow

सम्पादकीय

सत्यमोहनलाई सम्झन बिदाले पुग्दैन लोक, संस्कृति, सम्पदा, भाषा, साहित्यको जगेर्ना गर्नुपर्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १ मंगलबार
satyamohan-joshi-final.jpg

शताब्दी पुरुष सत्यमोहन जोशी हामीबीच रहेनन् । उनले मनग्ये बाँचे । मनले चाहेको धोको फेरेर बाँचे । स्वस्थ्य बाँचे । अनि राष्ट्रका लागि सकुन्जेल योगदान दिएर बाँचे । सर्वोत्कृष्ट रचना दिएर बाँचे । उनको साधनामा कहिल्यै कुनै खोँट आएन । उनी अविराम साधनामा रहे । 

र अन्तिममा आफैंले आफैंलाई पूर्णविराम लगाए । हुनत अन्तिम चरणमा डेंगी रोग देखियो । डेंगी त उनको भौतिक शरीरलाई दुनियाँबाट टाढा राख्ने एउटा बहानामात्र बन्यो । 

एक शताब्दी बाँच्नु कल्पनाभन्दा बाहिरको विषय हो । नामजस्तै सत्यमोहनको सत्य यही हो । उनी १०३ वर्ष लोभलाग्दो जीवन बाँचे । गत आइतबार बिहान उनले अन्तिम स्वास फेरे । १९७७ साल बैशाख ३० गते जन्मिएका उनको २०७९ असोज ३० गते निधन भएको हो ।

उनी एक सिंगो इतिहास रहे । नेपालमा यसअघि बाँच्न त अरु पनि १०३ वर्ष नबाँचेका होइनन् । तर जसरी आफ्नो जीवनलाई पूर्णरुपले कर्मयोगी साधनामा लगाएर बाँच्ने उनी नै पहिलो हुन् भनी दाबी गर्दा अन्यथा हुँदैन । उनी हरेक क्षेत्र, वर्ग र उमेर समूहका व्यक्तिका लागि उदाहरणीय हुन् र रहिरहने छन् ।  

सत्यमोहनले आफ्नो जीवनको आठ दशकबढी समय भाषा, साहित्य, कला, संस्कृति, इतिहास लगायतका विविध विधामा अविराम सक्रिय लागिरहे । त्यो पनि निकै सशक्त ढङ्गले । नतिजा छरपष्ट देखिने ढङ्गले । 

त्यसको उदाहरण हो उनले तीन पटक जितेको मदन पुरस्कार । यो कीर्तिमान अहिलेसम्म कुनै पनि सर्जक वा साधकले हासिल गर्न सकेका छैनन् । उनी पहिलो मदन पुरस्कार पाउने लेखक हुन् । 

२०१३ सालमै ‘हाम्रो लोकसंस्कृति’ पुस्तकका लागि पहिलो मदन पुरस्कार पाएका जोशीले २०१७ सालमै ‘नेपाल राष्ट्रिय मुद्रा’ पुस्तकबाट दोस्रो तथा २०२८ सालमा ‘कर्णाली लोकसंस्कृति’ पुस्तकबाट तेस्रो पटक मदन पुरस्कार पाए । 

तीन कृति फरक विधाका हुन् । यसबाट पनि उनी अनेकौं विधामा खोजबिन गरेर कलम चलाएर कीर्तिमान रच्न सफल भए । उनले लेख्ने बेलामा सबैभन्दा बढी ध्यान दिने भने भनेको भाषा हो । भाषा जगेर्नामा उनको अतुलनीय योगदान छ । उनले नेपालीसँगै नेपाल भाषाको अझ बढी जगेर्ना गरेका छन् । 

सत्यमोहनले झण्डै सात दर्जन पुस्तक लेखे । जसमा करिब चार दर्जन नेपाल भाषाका छन् । उनको साहित्यको कमल पनि धेरै विधामा चल्यो । कविता, नाटक, नियात्रा, अनुवाद लगायतमा उनले आफूलाई समर्पण गरे । लोक, संस्कृति र इतिहासका धरोहर उनले ‘नेपाली लोकगीत एक अध्ययन’, ‘नेपाली चाडपर्व’ ‘नेवारहरूको महान चाड म्हपूजा’, ‘न्हूगु नेवाः वर्णमाला’ लगायत लेखे । 

बालसाहित्यमा पनि अब्बल सत्यमोहनको लेखन यसै हरेक वर्ग र उमेर समूहमा चर्चित भएको पक्कै होइन । सरकारी कामकाजमासमेत स्तरीय उनी राणाकालमै नेपालको नक्सा तयार पार्ने कार्यमा संलग्न थिए । आफ्नो जीवनलाई नै एक इतिहास भनी चिनाएका सत्यमोहन २०१६ सालमा पुरातात्विक तथा संस्कृति विभागका निर्देशक बनेर सम्पदा संरक्षणमा जुटेका थिए । 

उनी अरुको आलोचना गर्ने भन्दा पनि कर्ममा विश्वास गर्दै गए । जसका कारण कसैको आँखामा पनि बिझाएनन् । जीवित छँदै सबैजसो सम्मान ग्रहण गरे । नागरिकस्तरबाट शताब्दी पुरुष घोषित उनलाई सरकारले पनि ‘वाङ्मय शताब्दी पुरुष’ घोषित गर्यो । 

उनले आफ्नो जीवनमा जे गरे सबैलाई सुनाए । उनको लेखन र खोज त यसै पनि अनुकरणीय छ नै स्वस्थ्य जीवनको रहस्य कम लोभलाग्दो छैन । जीवनलाई अनुशासनको वृहत् पाठशाला बनाएर अस्ताएका सत्यमोहनको सत्जीवनलाई लाखौं सलाम । 

सरकारले एक दिन ढिला गरेर भए पनि उनकाे निधनकाे शोकमा मंगलबार सार्वजनिक बिदा दिएको छ । तर सरकारले बिदा दिएरमात्र उनीप्रतिको सम्मान पूरा भएको अवश्य ठान्न मिल्दैन । सत्यमोहन जस्ता ‘विशाल विश्वविद्यालय’ लाई सम्झन उनले संरक्षित गरेको लोक, संस्कृति, सम्पदा, भाषा, साहित्यको जगेर्ना गर्नुपर्छ । उनले देखाएको बाटो पछ्याउनु पर्छ । र थप अनुसन्धानमा लाग्नुपर्छ ।


 



नयाँ