arrow

बाजा बजाउँदै पोखरादेखि बागलुङसम्म

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ८ मंगलबार
panchebaja.jpg
फाइल तस्वीर

बागलुङ । सोमबार साँझपख बागलुङ बजारको हल्लनचोकमा ठूलो भीड थियो । त्यो भीडमा कोही नाचिरहेका थिए । कोही बाजा बजाइरहेका थिए । त्यो दृश्य देख्दा लाग्थ्यो कि यहाँ कसैको विवाह भइरहेको छ । तर त्यो थिएन । यस भीडमा पोखरा महानगरपालिका-२६ देखि आएका मगर नौमती बाजा समूहले बागलुङे युवालाई नचाइरहेको थियो । बाजा बजाउनेमा अधिकांश महिला थिए । सनाइँ, कर्नाल र बिकुल बजाउने भने पुरुष थिए । उनीहरुले पञ्चेबाजा पोसाकमा सजिएर देउसीभैलोसमेत खेलेका थिए ।

पोखरा अघौँचोकबाट आएका मगर बाजा समूहको उद्देश्य भैलो खेलेर आर्थिक सङ्कलन गर्नेभन्दा पनि लोप हुँदै गएको नौमती पञ्चेबाजाको संरक्षण र प्रचार-प्रसार गर्नु थियो । नौमतीबाजासहित देउसीभैलो खेल्दै बागलुङ आएका उनीहरुले मौलिक गीतलाई जोड दिएका थिए । मौलिक कला, संस्कृतिको संरक्षणमा जुटेको यो समूहले प्रचार कार्डहरु पनि दर्शकहरुलाई बाँडिरहेको थियो । बजारमा यमपञ्चक शुरु भएदेखि देउसीभैलो खेल्ने टोली धेरै थियो तर उनीहरुको भन्दा नौमती बाजा समूहको प्रस्तुति बिल्कुलै फरक थियो । जसमा मौलिकता झल्किन्थ्यो ।

मगर बाजा समूहकी सचिव रोजी पुन मगरले नौमतीबाजा हराउँदै गएपछि देउसीभैलोसँगै बाजालाई जोड्न थालेको बताइन् । उनले पछिल्लो समय बाजा बजाउने प्रचलन घट्दै गएको र आफूहरु सङ्गठित भएर यसको संरक्षणमा लागेको बताए । पुनले पहिले-पहिले दलित समुदायले बाजा बजाउने गरे पनि पछिपछि मगर समुदायमा पनि यो प्रचलन आएको बताउछिन् ।

“बाजा बजाउनु कला हो, सीप हो, दलितले मात्रै बजाउनुपर्छ भन्ने छैन, जसको हातमा सीप छ उसैले बजाउने हो, पहिला दलित समुदायका दाइभाइहरुले बजाउनु हुन्थ्यो, पछि गएर हामी मगरहरुले पनि बजाउन जान्यौँ, पहिले पुरुषहरुले मात्रै बजाउनुहुन्थ्यो भने अहिले महिलाहरुले पनि बजाउँछौँ”, पुनले भनिन्, “हामी यहाँ आएको देख्दा धेरैलाई पैसा उठाउन आएका हुन् भन्ने लागेको होला, हामी त्यो नभएर, नौमती बाजा संरक्षणका लागि प्रचारप्रसार गर्ने उद्देश्यले आएका छौँ, तिहारको बेला भएको हुँदा देउसीभैलो खेल्ने त स्वाभाविक नै भयो ।”

उनले पहिले-पहिले विवाह, छैटी, भातखुवाइ र ठूला सभासमारोहमा बाजा बजाउने प्रचलन भए पनि पछिल्लो समय कम हुँदै गएको बताइन् । बाजा निश्चित समुदायले बजाउने गर्दै आएकामा उनीहरुले अहिले चासो देखाउन छोडेपछि नौमती बाजा सङ्कटमा पर्दै गएको पुनको भनाइ छ । उनले बाजा बजाउन जान्ने जुन समुदायको मानिसले पनि बजाउन सक्ने भन्दै आफूहरु यसको संरक्षणमा जुटेको बताउछिन् ।

उनी भन्छिन्, “हामीहरुले सुरुमा बाजा बजाउँदा धेरैले नराम्रो सोच्नु भयो तर अहिले राम्रो मान्नुहुन्छ, जे काम पनि सीप भएकाले गर्ने हो, काम जान्यो भने जुन काम पनि गर्दा हुन्छ, कसैको निधारमा लेखेको हुँदैन, तैँले यो काम गरे भनेर, काम त जान्नेले गर्ने हो, पहिले दलित समुदायले बजाउनुहुन्थ्यो, अहिले उहाँहरुले बजाउन छोड्दै जानुभयो, हामीहरुले चासो दियौँ बजाउन थाल्यौँ, केही समस्या छैन, अहिले धेरै ठाउँबाट बाजा बजाउने माग आउँछ ।”

उक्त समूहमा ढोलकी बजाउने नरबहादुर पुनले पञ्चेबाजाको आफ्नै प्रकारको शैली र महत्व भए पनि पछिल्लो पुस्ता आधुनिकतातिर केन्द्रित हुन थालेपछि सङ्कटमा पर्दै गएको गुनासो गरिन् । पञ्चेबाजाप्रति पछिल्लो पिँढीलाई जिम्मेवार बनाउन आफूहरु लागिरहेको उनको भनाइ छ । पुनले नयाँलाई सिकाउनकै लागि आफू पोखरादेखि बागलुङसम्म आएको बताउछिन् ।

“मैले पहिलेदेखि नै बाजा बजाउन जानेको थिएँ, बजाएँ पनि, अहिलेका युवा पुस्तामा सिक्ने भन्ने ध्यान छैन, खाली विदेशी गाना गाउने मात्रै गर्छन्, अहिले हाम्रा ठिटाहरुले निकै चासो दिए, यिनीहरुसँगै साना केटाकेटीहरुलाई पनि सिकाउनुपर्छ भनेर म बुढो पनि यहाँसम्म बजाउँदै आएको छु”, उनी भन्छिन्, “कसैले पनि नराम्रो नमान्दिनु होला, यो त संस्कृति हो, बचाउनु पर्छ ।”

पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक नौमतीबाजा जोगाउन युवाहरुलाई आफूले नै सक्रिय बनाएको पुन बताउछिन् । पहिले गाउँमा बाजा बजाउने समूह नै नपुगेको भन्दै अहिले सिक्दै गरेका नयाँ युवाहरुले गर्दा बजाउन हिँड्न थालेको पुनको भनाइ छ । “अहिले नयाँ युवा केटाहरुले गर्दा टिम पुगेको छ, पहिले त टिमै पुग्दैनथ्यो, अहिले छोरी बुहारीहरुले पनि बजाउन सिके, अब यिनीहरुले छोडेनन् भने केही वर्ष बजाउन सक्नेछौँ”, पुनले भनिन् ।

नौमती मगर बाजा समूहका अध्यक्ष जीवन पुन मगरले देउसीभैलोसँगै बाजा संरक्षणको प्रचाप्रसारका लागि बागलुङसम्म आएको बताए । बागलुङ पनि पञ्चेबाजामा प्रख्यात जिल्ला भएको हुँदा अरू ठाउँमा पनि अझै बाजा बजाउने प्रचलन रैछ भन्ने सन्देश दिन आएको उनको भनाइ छ ।

पुन मगर भन्छन्, “बागलुङमा दलित समुदायका दाइभाइहरुले अहिले पनि बाजा बजाउँदै आउनुभएको छ, तर हाम्रोतिर कम भएको छ, यो जिल्ला निकै चर्चित छ, पञ्चेबाजामा त्यही भएर हामीहरु अरू ठाउँमा पनि अझै बाजा बजाउने प्रचलन रैछ है भन्ने सन्देश छोडौँ र हाम्रो प्रचार गरौँ भनेर आएका हौँ ।”

उनले आफूहरुले अग्रजबाट सीप सिकेको भन्दै अनुजलाई पनि सिकाइरहेको बताए । पुनले बाजा बजाउने प्रचलन दिनप्रति दिन घट्दै जान थालेपछि आफूहरुले गाउँमा सङ्गठन बनाएरै संरक्षणमा जुटेको बताउछन् । अहिले पुनः बाजा बजाउने प्रचलन बढ्न थालेको उनको भनाइ छ ।

“करिब पाँच वर्ष जति त बाजा बजाउने प्रचलन निकै कम भएको थियो, हामी युवाहरु एक पटक गज्जबले कस्सियौँ, त्यसपछि बाजा बजाउन सिक्यौँ, बाजाहरु किन्यौँ, बजाउन थाल्यौँ, अहिले फेरि लयमा फर्किन थालेको छ”, उनी भन्छन्, “अहिले बाजा बजाउनका लागि धेरै ठाउँबाट माग आउँछ, हामीहरु सक्ने जति ठाउँ पुग्ने गरेका छौँ, यसले हामीलाई स्वरोजगरा पनि बनाएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ