arrow

चौधरी ग्रुपको नवलपरासीमा केरामा आधारित उद्योग, शिलान्यास गर्न त्रिपाठीको अवरोध, स्थानीयको आपत्ति 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
cg-snakes-company-2079.jpg

नवलपरासी । चौधरी ग्रुपले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग संचालन गर्न सीजी स्न्याक्स प्रालि उद्योग स्थापनाको काम शुरु गरेको छ । उद्योग स्थापना गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा उद्योग दर्ता भई संचालन अनुमति लिएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयमा उक्त उद्योग दर्ता नं ३०१७०४–०७९–०८० रहेको छ  ।
 
उद्योग स्थापनाका लागि ग्रुपले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा करिब पाँच बिगाहा जग्गा खरिद गरेर उद्योग स्थापनाको काम थालेको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उद्योगको शिलान्यास गरी तत्काल निर्माणको काम शुरु गर्ने तयारी गरेका थिए । 

तर यस विषयलाई नवलपरासी १ बाट उम्मेदवार रहेका जनता प्रगतिशील पार्टीका नेता हृदयेश त्रिपाठीले अवरोध गरेका छन् । त्रिपाठीले यहाँ उद्योगको शिलान्यास गर्न नदिन प्रशासनसँग हार गुहार गरेका छन् । 

शिलान्यास गरिए त्यसको अवरोध गर्ने र चुनाव विथोल्ने समेतको धम्की दिएको प्रशासन स्रोतले जानकारी दिएको छ । उद्योग खोल्न अवरोध गरेर त्रिपाठीले आफ्नो विकास विरोधी चरित्रलाई थप उदांगो बनाएको स्थानीयको आरोप छ । 

सुस्ता गाउँपालिका वडा नम्बर ४ का प्रमोद पाण्डेले भने,  ‘उहाँले आफू पनि केही गर्नुभएन र अरुलाई पनि गर्न दिन्न भन्नु आपत्तिजनक छ । हामीलाई यहीँ रोजगारी पाउने वातावरण बनाउने राजनीति चाहिएको हो ।’

यहाँ रोजगारको अवसर उपलब्ध नभएपछि लुम्बिनी प्रदेशमै यस क्षेत्रबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीमा गएका छन् । प्रतापपुर गाउँपालिका वडा नम्बर ७ का हरीजन चौधरी भन्छन्, ‘अहिले हरेक घरघरमा हेर्ने हो भने युवाहरु सबै विदेश छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी विदेश जानेमा यो जिल्ला नै पर्छ । यही उद्योग खुल्छ भने किन विरोध गर्ने ? कि विरोध गर्नेले हामीलाई रोजगारीको व्यवस्था मिलाउनु पर्यो ।’ 

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उद्योग विस्तार गर्ने काम तत्कालका लागि अवरोध गरिए पनि निर्वाचन लगत्तै अगाडिी बढाइने बताए ।  ‘यस क्षेत्रलाई हामीले औद्योगिक पार्कका रुपमा विकास गर्नेछौँ । यहाँ अन्य उद्योगहरु पनि विस्तार हुँदै जाने छन् । जसका कारण धेरैभन्दा धेरै युवाहरुका लागि रोजगारीका अवसर र किसानका लागि उचित मूल्य पाउने वातावरण तयार हुनेछ’, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ