नेपालको आतिथ्य क्षेत्रमा नयाँ युगको शुरूआत: म्यारियटसँगको साझेदारी ऐतिहासिक उपलब्धि
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
313
Shares
काठमाडौँ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विश्वप्रसिद्ध होटल सञ्जाल ‘म्यारियट इन्टरनेसनल’सँगको साझेदारीले नेपालको आतिथ्य (हस्पिटालिटी) क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्। म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटको नेपाल भ्रमणका अवसरमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले यो सहकार्य नेपालको समृद्धिका लागि एक ऐतिहासिक ‘स्टेटमेन्ट’ भएको बताए।
आफ्नो २८ वर्ष लामो आतिथ्य क्षेत्रको यात्रा स्मरण गर्दै चौधरीले सन् १९९८ मा नेपालमा होटल सुरु गर्ने प्रयास प्राविधिक कारणले सफल हुन नसकेको उल्लेख गरे। दुई वर्षअघि सिङ्गापुरमा म्यारियटको नेतृत्वसँग भएको भेटवार्ताले यो साझेदारीलाई मूर्तरूप दिएको उनको भनाइ थियो। म्यारियटको ९ हजार ९ सयभन्दा बढी होटल र १.७ मिलियन कोठाहरू सहितको विश्वव्यापी सञ्जालसँगको सहकार्य नेपालका लागि मात्र नभई दक्षिण एसियाकै पर्यटन क्षेत्रका लागि महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे।
समारोहमा चौधरीले नेपालको वर्तमान राजनीतिक नेतृत्व र युवा संसद्प्रति आशावादी हुँदै सरकारको विकासको मार्गचित्रमा निजी क्षेत्रको साथ रहने प्रतिबद्धता जनाए। रित्ज–कार्ल्टनको शिलान्यास नयाँ सरकार गठनकै दिन हुनु र छोटो समयमै म्यारियट ग्रुपका अध्यक्ष डेभिड म्यारियट स्वयं नेपाल आउनुलाई उनले सुखद् संयोग र ठूलो उपलब्धिका रूपमा चित्रण गरे। नेपालमा रित्ज–कार्ल्टन, वेस्टिन र जेडब्लु म्यारियट जस्ता प्रतिष्ठित ब्रान्डहरूको प्रवेशले विश्व जगत्मा सकारात्मक सन्देश प्रवाह गर्ने र नेपाल अब उच्चस्तरको आतिथ्य सेवा प्रदान गर्न पूर्ण रूपमा तयार छ भन्ने प्रमाणित गर्ने उनको दाबी छ। यस सहकार्यसँगै म्यारियटको विश्व मानचित्रमा नेपाल अब एक प्रमुख गन्तव्यको रूपमा स्थापित भएको उनले बताए।
नेपालमा म्यारियटका लगभग सबै प्रमुख ब्रान्डहरू भित्र्याउन सफल भएको बताउँदै उनले भारतमा पनि म्यारियटसँगको साझेदारीमा ५०० वटा होटल सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको र हरेक हप्ता एउटा होटल थप्ने गरी तीव्र गतिमा विस्तार भइरहेको जानकारी दिए। नेपाल सरकारले सन् २०२७ लाई वेलनेस पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेको सन्दर्भमा यो साझेदारीले नेपालको पर्यटन पूर्वाधार र बलियो इकोसिस्टम निर्माणमा थप बल पुर्याउने अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे।