arrow

डोटी भूकम्प : भूकम्प प्रभावितको उद्धारमा खटिए सेना र प्रहरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
doti-earthquake1.jpg

काठमाडौं ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन् । 

डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको छ । 
 
यता कैलालीको धनगढीसहितका क्षेत्रमा भूकम्पको धक्का महसुस हुँदा राति धेरै सर्वसाधारण घर बाहिर निस्केका थिए । जिल्लामा अहिलेसम्म भूकम्पका कारण मानवीय क्षति भएको खबर नपाएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
 
अछामको शान्तडा र मङ्गलसेन क्षेत्रमा कतिपय घर चर्केको त्यहाँस्थित प्रहरी निरीक्षक कैलास सिंहले जानकारी दिए । त्यहाँ मानवीय क्षति भएको खबर नआएको उनले बताए । डोटीका अन्य क्षेत्रमा धेरै व्यक्तिका घरमा चिरा परेको जानकारी आएको जोरायल गाउँपालिकाका मदनराज जोशीले जानकारी दिए ।
 
यसैबीच डोटीका समाजसेवी एवं नेपाली कांग्रेसका नेता पदमराज जोशीले भूकम्पबाट पीडित परिवारका लागि रु ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका पदम बोहराको घर भत्किँदा उनकी श्रीमती ३५ वर्षीया भगवती बोहरा, १२ वर्षीया छोरी सीता, सात वर्षीय छोरा हर्क बोहराको च्यापिएर मृत्यु भएको थियो । पदम बोहरा भने हाल भारतमा छन् ।

यसैगरी सोही ठाउँका प्रेम बोहराको घर भत्किँदा निज बोहरासहित उनकी छोरी तुल्सी र धनसरा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोला भट्टले जानकारी दिए । घरमा च्यापिएर घाइते भएका पाँच जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ