arrow

पुटिनसँग वार्ता गर्न जेलेन्स्की तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
Volodymyr Zelenskyy.jpg

काठमाडौं । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता नगर्ने भन्दै आएका युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अब भने वार्ता गर्न सकिने बताएका छन् । जेलेन्स्कीले सोमबार बेलुका अन्तर्राष्ट्रिय समुदायलाई रूसलाई वास्तविक शान्ति वार्तामा ल्याउन आग्रह गरेका हुन् ।

यद्यपि उनले वार्ताका लागि आफ्नो सामान्य सर्तहरू युक्रेनको सबै कब्जा गरिएको भूमि फिर्ता, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति र युद्ध अपराधको अभियोजन रहेको बताएका छन् ।

यसअघि सेप्टेम्बरको अन्तमा पुटिनसँग 'वार्ता गर्न असम्भव' रहेको भन्दै एक आदेशमा हस्ताक्षर गरेका युक्रेनी राष्ट्रपति जेलेन्स्कीको बयानबाजीमा अमेरिकी चलखेलबाट परिवर्तन आएको हो ।

अमेरिकाले यसअघि युक्रेनलाई रुससँग वार्ताका लागि खुला रहन भनेको समाचारहरु बाहिरिएका थिए भने, अमेरिकाले मास्कोलाई समेत वार्तातर्फ आउनका लागि आग्रह गरिरहेको कुरा स्वीकारेको थियो ।

अमेरिकी मध्यावधि चुनावकाबीच रिपब्लिकनहरुले अमेरिकी संसदमा बहुमत बनाएमा राष्ट्रपति जो बाइडेनलाई युक्रेनलाई अत्यधिक सैन्य सहयोग गर्न समस्या हुनेछ । 

रुसविरुद्ध लड्न पश्चिमाहरुले पठाइरहेको हतियारमा निर्भर युक्रेनलाई त्यसपछि समस्या हुनेछ । त्यसैले पनि मंगलबार अमेरिकी मध्यावधि चुनावको पूर्वसन्ध्यामा सोमबार साँझ जेलेन्स्कीले यस्तो घोषणा गरेको ठानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ