arrow

हामीले खोजेको नेता कस्तो हो ? 

logo
ई सुवास पौडेल
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
subash-poudel-article-gagan.jpg

एक पटक तमाम नेताहरुको दैनिकी अध्ययन गर्नुहोस् त ! अधिकांश नेता बिहानदेखि बेलुकासम्म पद र शक्ति कसरी आर्जन गर्ने, त्यसको लागि आवश्यक पर्ने गुट निर्माण र विस्तार कसरी गर्ने भन्ने ध्याउन्नमा आफ्नो दैनिकी बिताइरहेको देखिन्छ । 

तर नेपालको राजनीतिमा हामीले एउटा त्यस्तो नेता पनि देख्यौं जो कहिले काठमाडौंलाई बस्न योग्य शहर बनाउन ‘लिभएबल काठमाडौं’ अभियान चलाएको पाउछौँ त कहिले सांस्कृतिक महत्व बोकेका बस्ती जोगाउन ‘रिभाइटलाइजेसन अफ कल्चरल एरियाज्’ अभियान चलाएको देख्छौं । 

त्यो नेता जसले कुनै बेला काठमाडौंको ट्राफिक व्यवस्थापनबारे विज्ञहरुसँग योजना बनाउँदै गरेको देख्छौं त कहिले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको परिकल्पना गरी घर घर मै स्वास्थ्य सेवा पुर्याउने सामुदायिक संयन्त्र खडा गर्दै गरेको पाउछौँ । 

उसले कहिले काठमाडौंको खुल्ला ठाउँहरू संरक्षण गरिनु पर्छ भनेर पार्क निर्माण गर्ने अभियान चलाएको देख्छौं त कहिले कोभिडलगायत महामारी नियन्त्रणका उपाय बोकेर सिंहदरबार भौंतारिइरहेको पाउछौँ । 

त्यो नेता कुनै बेला मेडिकल शिक्षामा सुधार कसरी गर्न सकिन्छ भनेर सत्याग्रही डा. गोविन्द केसी र प्राडा. केदारभक्त माथेमाहरुसँग घण्टौं छलफल गरेको देख्छौँ । त कहिले देशको स्वास्थ्य संरचना कस्तो हुनु पर्छ भनेर योजना बुन्दै गरेको पाउछौँ । 

त्यो नेता जसले कानून बनाउने हरेक विधेयकहरूमा मिहीन ढंगले अध्ययन अनुसन्धान गरी संसदमा तर्कपूर्ण प्रश्नोत्तर गर्दै गरेको देख्छौँ । त कहिले भुइँमान्छेहरुको जनजीविकाका तमाम मुद्दाहरुमा राज्यसंरचनामा नै तरंग सृजना हुने गरी संसदमा वजनदार ढङ्गले आवाज दिएको पाउछौँ ।

जसले एकजना सांसद कस्तो हुनुपर्छ भन्ने मानक नै स्थापित गराएको छ । त्यो नेता जो देशको अर्थतन्त्र बुझ्नको लागि विगत दुई वर्षदेखि विश्वविद्यालयका प्राध्यापकहरुसँग अर्थशास्त्रको क्लास लिइरहेकोसमेत सुन्छौँ । 

हामीले देखेका देशका तमाम दोस्रो तहका नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुढ्यौली लाग्ला र पालो पाइएला भन्ने लोभमा नेतृत्वको महिमामण्डन गर्ने बाहेक नेतृत्व लिने, देश बनाउने र बदल्ने संकल्प, सामर्थ्य र हुटहटी कहीँ कसैमा प्रकट भएको देख्दैनौँ । 

तर यो चाकडीबाजहरुको भीडमा एउटा एस्तो नेता पनि छ जो पहिलो पुस्ताले नमान्दा नमान्दै पनि पन्छाएर नेतृत्व हत्याउन सक्ने आत्मविश्वास र सामर्थ्य राख्छ ।

सबै जसो राजनीतिज्ञहरु पहिला पदमा त पुगौँ, पुगेपछि के गर्ने बल्ल सोचौंला भन्ने मनोविज्ञान बोकेर शक्ति आर्जन गर्ने टिकडम्मा मात्र सीमित भइरहँदा, त्यो नेता जो प्रधानमन्त्री पदमा पुगिन्छ वा पुगिन्न भन्ने थाहा छैन तर पुग्दै गर्दा ‘प्रोजेक्ट गभरमेन्ट’ भनेर पहिलो दिनदेखि नै गर्नु पर्ने हरेक मन्त्रालयगत ‘एक्सन प्लान’हरु ‘सेट’ गरेर बसेको छ । 

त्यो नेता जो ६–८ महिना मन्त्री बन्ने अवसर प्राप्त गर्दै गर्दा डेलिभर गरेर हाम्रो आशालाई विश्वासमा बदल्यो ।

यति भन्दै गर्दा तपाईंको दिमागमा एउटा नाम पक्कै आइसकेको हुनुपर्छ ‘गगनकुमार थापा’ । एक पटक सोचौं त ! यो स्तरको समर्पण र परिश्रम अरु कुनै नेतामा देख्नुभएको छ ? अन्य राजनीतिक दलमा आस्थावान साथीहरु र ‘नो नट अगेन’ अभियान चलाउने साथीहरु एकपटक आफ्नो मनलाई सोध्नुस् ! के हामीले खोजेको नेता यस्तै हैन र ?
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ