arrow

देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा इन्जिनियरिङ पढ्न विद्यार्थीको घुइँचो

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
manmohan-techinal-university.jpg

जनकपुरधाम । देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा इन्जिनियरिङ पढ्न चाहने बिद्यार्थीहरुको घुइँचो लागेको छ । प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयको दोस्रो शैक्षिक सत्रमा भर्ना भएर इन्जिनियरिङ विषय पढ्न चाहने बिद्यार्थीहरुको आकर्षण अत्यधिक बढेको हो ।

दोस्रो शैक्षिक सत्रको भर्ना आवेदन खुल्ला भएपछि स्कुल अफ इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रिक एण्ड इलेकट्रोनिक्स इन्जिनियरिङ विषयमा स्नातक तहमा पढ्ने पाँच सय बढी बिद्यार्थीहरुले आवेदन दर्ता गराइसकेको प्राविधिक विश्वविद्यालयका डिन डा प्रचण्ड मान प्रधानले बताए । 

डिन प्रधानका अनुसार भौतिक पूर्वाधार सम्पन्न कक्षा कोठा , कमप्युटरीकृत पठनपाठन र परीक्षा प्रणाली अनि उच्च स्तरको गुणस्तरीय प्रयोगशाला र बिशिष्टकृत पाठ्यक्रम र महिला छात्रावास सहित आउन जान यातायातको समेत व्यवस्था भएकोले पहिलो शैक्षिक सत्र देखी नै मनमोहनमा ईन्जिनियरङ पढ्न चाहने बिद्यार्थीहरुको घुँईचो लाग्न थालेको हो । 

इन्जिनियरिङ संकायका विभागीय प्रमुख इन्जिनियर नरेन्द्रकुमार डाँगीका अनुसार चालु शैक्षिक सत्रमा यही ३० कार्तिक सम्म नियमित र ९ मङ्सिरसम्म विलम्ब शुल्क बुझाएर बिद्यार्थीहरुले अनलाइन मार्फत भर्नाका लागि आवेदन दिन सक्नेछन् । 

२०७६ मा प्रदेश १ सरकारले सांसदबाट कानुन बनाएर देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गराएको थियो । पाठ्यक्रम र भौतिक पूर्वाधार निर्माण गरि दक्ष जनशक्ति नियुक्त गरिसकेपछि गत वर्षदेखि मनमोहन प्राविधिक विश्वविद्यालयले स्कुल अफ इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रिक एण्ड इलेकट्रोनिक्स इन्जिनियरिङ विषयमा स्नातक तहको पढाई सुरु गरेको हो । 

मुलुकको सर्वाङ्गीण विकासको लागि आवश्यक पर्ने उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने, बहु प्राविधिक विश्वविद्यालयको अवधारणा अनुरूप प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त, उपलब्धिमूलक र अन्तर्राष्ट्रिय विकास क्रमसँग आबद्ध गर्न सक्ने मानव संसाधन विकास गर्ने यो विश्वविद्यालयको ध्येय छ । सँगै विज्ञान, प्रविधि तथा व्यावसायिक क्षेत्रको ज्ञान र सीपको सान्दर्भिक अनुसन्धानलाई व्यापक एवं व्यवहारिक र समय सापेक्ष बनाउने मनमोहन प्राविधिक विश्वविद्यालयको लक्ष्य छ । 

देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कूलअफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज सञ्चालन हुनेछ । यो विश्वविद्यालय ले तीन वटा स्कुलहरू अन्तर्गत दश वर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि(पिएचडी) गरी २८ वटा विभिन्न विषयहरू सञ्चालन गर्ने नीति लिएको छ । सबै कार्यक्रमहरु सञ्चालन भएपछि मनमोहनमा हरेक वर्ष कूल २८ सय ३१ जना दक्ष प्राविधिक विद्यार्थी उत्पादन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ