arrow

चुनावी अस्त्र

विष्णु पौडेलको चुनावी फण्डाः लुम्बिनीको प्रदेश राजधानी दाङबाट बुटवल सार्ने दाबी

logo
नारायण वली,
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
FB_IMG_1668176317048.jpg

रुपन्देही । प्रदेशको स्थायी राजधानी र नामाकरण गर्ने समयमा दाङमा राजधानी लैजाने बेला बुटवलबासीको नजरमा चुप लागेर बसेको आरोप खेपेका नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र न-२ का प्रतिनिधि सभाका उम्मेदवार विष्णुप्रसाद पौडेलले मंसिर ४ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा दाङ लगिएको राजधानीलाई बुटवल ल्याएरै छाड्ने बताएका छन् ।

०७४ सालको निर्वाचनका बेला बुटवलबासीलाई प्रदेशको राजधानी बुटवलमा नै स्थापित गराउने भन्दै चुनावी घोषणापत्रमा प्रतिबद्धता गर्ने मात्रै होइन औपचारिक कार्यक्रममासमेत भाषण गरेका नेता पौडेलसँग रिसाएका बुटवलबासीले अर्थमन्त्री पदसँग राजधानी साटेको भन्दै बुटवलमा कालो झण्डा देखाएर विरोधसम्म गरे । त्यसपश्चात् बुटवलबासीलाई भुलाउन बुटवललाई आर्थिक राजधानी बनाउने आश्वासन पौडेलले दिएका थिए । 

तर शुक्रबार रुपन्देहीको भलवारीमा आयोजना भएको "निर्वाचन महासंग्राम" कार्यक्रममा बोल्दै नेता पौडेलले फेरि चुनावी फण्डा ल्याएका हुन् । तत्कालीन समयमा प्रदेश न-५ को प्रदेश सरकार एमालेका हालका महासचिव शंकर पोखरेल नेतृत्वमा सञ्चालन हुँदा प्रदेश सभामा स्थायी राजधानी बुटवल- दाङ भन्ने विषय लामो समय विवादित बनेपछि मुख्यमन्त्री पोखरेल नेतृत्वको प्रदेश सरकारले राजधानी र नाम राख्ने विषयमा मतदान प्रक्रियाबाट टुंगो लगायो ।

मतदानमा दाङ, देउखुरी उपत्यकाको मसुरिया स्थानमा स्थायी राजधानी र प्रदेशको नाम लुम्बिनी राख्नेमा प्रदेश सांसदहरुले बहुमत खसालेका थिए । तर शुक्रबारको कार्यक्रममा एमाले नेता पौडेलले प्रक्रियागत रुपमा दाङमा तोकिएको राजधानीलाई बुटवल ल्याउने दाबी गरेपछि चुनावको मुखमा निर्वाचन जित्नको लागि राजधानी एजेण्डालाई अस्त्र बनाएको चर्चा चलेको छ ।

कार्यक्रममा नेता पौडेलले एउटा प्रदेश सभाले गरेको निर्णयलाई अर्को प्रदेश सभाले उल्ट्याउन मिल्ने बताउँदै राजधानी बुटवल ल्याएरै छाड्ने जिकिर गरे ।

उनले दाङ राजधानी सार्ने क्रममा आफूले प्रतिकार गरे पनि परिस्थितिले सम्भव नभएको भनी आफ्नो प्रष्ट रुपमा बचाउ गर्दै आगामी निर्वाचनमा लुम्बिनीबाट एमालेको सरकार बन्ने र राजधानी बुटवल ल्याउने तर्क गरे ।

नेता पौडेलले न्यायको लडाइँमा कहिलेकाहिँ सफलता नहुने बताउँदै भने "रुपन्देही बासीहरुलाई म आग्रह गर्न चाहान्छु यो लडाइँमा हामीले सफलता प्राप्त गरेका छैनौं । तर दाङमा रुपन्देहीबाट राजधानी सरेको छ । यो कुनै ढुङ्गाको अक्षर होइन । यो कुनै अर्को प्रदेश सभाले चकले लेखिएको अक्षरलाई  डस्टरले मेट्न सक्छ र अर्को नाम लेख्न सक्छ ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ