arrow

मत जोगाउने रणनीति

गठबन्धन कसिलो भएपछि प्रतिरक्षा गर्दै एमाले 

काठमाडौं बस्ने तर मत दिन नजाने मतदाताहरुको पहिचान गरेर जिल्ला पठाउन थाल्यो, माओवादी बाहेकका मतदाता फकाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौं । गठबन्धन कसिलो हुँदै गएपछि नेकपा एमाले प्रतिरक्षा गर्न थालेको छ । एमालेले आफ्ना मतदाताहरुको मत जोगाउने रणनीतिसहित गठबन्धनको प्रतिरक्षा गर्न थालेको हो । 

पछिल्लो पटक गठबन्धन दलका नेताहरुले आफ्ना नेता कार्यकर्तालाई फकाउने, निकाल्ने, तथा मिलाउने काममा सफल भएपछि एमालेले आफ्ना मतदातालाई सुरक्षित गर्न थालेको हो । 

गठबन्धनबाट मत चोरिन सक्ने सम्भावना रहेको र केही मतदाताहरु निस्कृय बस्ने भएपछि एमालेले ती मतदाताहरुलाई सुरक्षित गर्न विभिन्न उपायको खोजीमा लागेको छ । काठमाडौं बस्ने तर मत दिन नजाने मतदाताहरुको पहिचान गरेर एमालेले जिल्ला जिल्ला पठाउन थालिसकेको छ । 

गत निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार स्थानीय तहमा पहिलो स्थानमा रहेको नेपाली कांग्रेसभन्दा एमालेले १ लाख ४४ हजार ५ सय ९१ मत मात्र कम ल्याएको छ । 

आयोगले वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा लोकप्रिय मत निकालेको थियो । आयोगको विवरणअनुसार एमालेले ३८ लाख ११ हजार ७ सय २ मत प्राप्त गर्दा कांग्रेसले ३९ लाख ५६ हजार १ सय ९३ मत प्राप्त गरेको थियो । 

गएको २०७४ सालको संसदीय निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो नम्बरमा थियो । उसले कांग्रेसभन्दा ४५ हजार मत धेरै ल्याएको थियो । त्यसरी हेर्दा गएको संसदीय निर्वाचनको तुलनामा कांग्रेसले एमालेभन्दा करिब दुई लाख मत बढाएको छ । 

आन्तरिक कमजोरीलाई सुधारेर निर्वाचनमा सहभागी हुँदा अझै पनि कांग्रेसलाई उछिन्न सक्ने भएकाले एमाले एकल प्रतिस्पर्धामा जान चाहेको थियो । 

तर एकल प्रतिस्पर्धाको सम्भावना नभएपछि एमालेले आफ्ना सबै मत सुरक्षित गर्न सकेमा यसपटक कांग्रेसलाई उछिन्न सकिने भन्दै पार्टीका नेता कार्यकर्तालाई सोही अनुसार निर्देशन दिइसकेको छ । 

यो पटक एमालेले एक सय ४४ स्थानमा उम्मेदवारी दिएको छ । करिब करिब ७० देखि ८० स्थानमा दोस्रो हुने सम्भावना रहेकाले त्यहाँको मतान्तर घटाउनका लागि एमालेले मतदाताहरुलाई सुरक्षित गर्न थालेको हो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका मात्र नभएर अन्य पार्टीका नेता कार्यकर्ताहरुलाई पनि फकाउन थालेका छन् । उनले कांग्रेसलाई भन्दा पनि बढी माओवादीलाई गाली गलौज गरेका छन् । 

कांग्रेसको असन्तुष्ट रहेको मतलाई आफ्नो पक्षमा पार्न उनको मेहनत रहेको छ भने नेकपा एसका नेता कार्यकर्तालाई त उनले चुनावअघि नै एमालेमा आएमा विशेष स्थान दिने भन्दै एमालेमा फर्कन आग्रह गरेका छन् । 

निर्वाचनपछि फर्कनुको अर्थ नहुने भन्दै चुनावअघि नै पार्टीमा फर्केर जिम्मेवारी लिनेलाई विशेष व्यवस्था गर्ने ओलीको भनाई छ । उनले माधव नेपाललाई पनि पार्टीमा फर्किन आग्रह गरेका छन् । 

एमालेले आफ्नो मत सुरक्षित गर्ने रणनीति अपनाएपछि ओलीले एमालेबाट बाहिर गएका नेता कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गरेका थिए । पार्टीभित्रका मतभेद, असहमति र असमझदारी तलैसम्म अन्त्य वा थाँती राखेर पार्टीपंक्ति केन्द्रीकृत र एकताबद्ध भएर मतलाई बढाउने दिशामा केन्द्रित हुनुपर्ने भन्दै एमाले पंक्तिलाई निर्देशन दिइएको छ । 

‘अहिले हाम्रो ध्यान कसरी मत बढ्छ भन्नेमा केन्द्रीत रहेको छ आफ्नो मत सुरक्षित भएमा एमालेले समानुपातिकमा पनि अन्य दलभन्दा बढी ल्याउछ’, एमालेका युवा नेता डा. भिष्म अधिकारीले भने, ‘मत सुरक्षित गर्न पार्टीको सबै पंक्ति लाग्नेछ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ