arrow

फ्रान्सले एसिया-प्रशान्त क्षेत्रमा ‘मुठभेड’ नहोस् भन्ने चाहन्छ : म्याक्रोँ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
macron-france.jpg

बैंकक । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले एसिया-प्रशान्त क्षेत्रसँग फ्रान्सको सम्लग्नताका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै ‘मुठभेड’ को स्थिति अन्त्य गर्न आग्रह गरेका छन् ।

अमेरिका र चीनबीच बढ्दो प्रतिस्पर्धालाई मध्यनजर गर्दै यस क्षेत्रका लागि फ्रान्सको रणनीतिक सम्बन्ध पुनः सुरु गर्न चाहेको बैंककमा आयोजित एशिया-प्रशान्त आर्थिक सहयोग (एपेक) को २१ सदस्यीय शिखर सम्मेलनमा भाग लिने क्रममा म्याक्रोँले बताएका हुन् । 

फ्रान्सेली राष्ट्रपतिले शिखर सम्मेलनका क्रममा व्यापारिक नेताहरूको एक भेलालाई सम्बोधन गर्दै भने, “फ्रान्सले यस क्षेत्रमा स्थिरताका लागि भूमिका खेल्न चाहेको छ ।” 

“हामी आधिपत्यमा विश्वास गर्दैनौं, हामी मुठभेडमा विश्वास गर्दैनौं, तर स्थिरतामा विश्वास गर्छौं,” म्याक्राँेले भने । 

हिन्द तथा प्रशान्त महासागरमा रियुनियन, न्यू क्यालेडोनिया र फ्रेन्च पोलिनेसियालगायतका विदेशी भूभाग रहेको फ्रान्सलगायत क्षेत्रीय शक्तिले भूमिका खेल्नुपर्ने उनले बताए । “हामी जङ्गलमा छौं र हामीसँग दुई ठूला हात्ती छन्, जसले झन्-झन् उत्तेजना बढाउने अवस्था आइरहेको छ,” म्याक्रोँले आफ्नो सम्बोधनमा भने । 

“यदि उनीहरू धेरै आक्रोशित भए भने यो बाँकी जङ्गल (क्षेत्र)को लागि ठूलो समस्या हुनेछ । तपाईंलाई बाघ, बाँदरलगायत धेरै अन्य जनावरहरूको सहयोग चाहिन्छ ।”

म्याक्रोँले जलवायु परिवर्तनदेखि आर्थिक उथलपुथलसम्मका सङ्कटको सामना अन्तर्राष्ट्रिय समुदायले गरिरहेको र समन्वयात्मक प्रतिक्रियाको खाँचो रहेको बताए ।

“हाम्रो इन्डो-प्यासिफिक रणनीति यो वातावरणमा गतिशील सन्तुलन कसरी प्रदान गर्ने भन्ने हो,” उनले भने । 

“ यो दुई ठूला शक्तिहरूको टकराव हुन सक्दैन । तीमध्ये कुनै एकको आधिपत्य हुन नसक्ने एक प्रकारको स्थिरता र सन्तुलन कसरी प्रदान गर्ने चिन्ता अहिलेको हो ।”

रूस- युक्रेन युद्ध विश्वव्यापी अस्थिरताको प्रमुख स्रोतको रूपमा देखिएको उल्लेख गर्दै उनले भने, एशिया र अन्यत्रका सबै देशहरूले आफ्नो कर्तव्यप्रति गम्भीर बन्न आवश्यक छ ।

म्याक्रोँले भने, “फ्रान्सले यो युद्ध पनि हाम्रो समस्या हो भनेर भन्नका लागि बढ्दो सहमति निर्माण गर्न काम गरिरहेको छ किनभने यसले धेरै अस्थिरता सिर्जना गर्नेछ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ